केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर !!

सहयात्रा टिभी

सहायात्राटीभी : कात्तिक १२ गते सोमबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोक गाउँमा स्तन तथा पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
उक्त शिविरमा १८० जना महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएकोमा १५० जनामा संक्रमण देखिएको थियो भने ३ जना पूर्वसंक्रमणको अवस्थामा रहेको भेटिएको थियो ।

यो एउटा गाउँको सानो विवरण मात्र हो तर यससँगै भन्न के सकिन्छ भने दिनप्रतिदिन महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सको समस्या बढ्दै गएको छ । रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने अधिकांश महिलाहरुमा स्तन र पाठेघरको मुखको क्यान्सर फेला पर्न थालेका छन् ।

नेपालमा कति महिलाहरु पाठेघर र स्तन क्यान्सरका पिडित छन् भन्ने कुनै यकिन तथ्याङ्क भने हाल सम्म सार्वजनिक हुन सकेको छैन् । तर यस्तो डरलाग्दो क्यान्सर रोगका कारण वर्षेनी हजारौँ महिलाहरुले अनाहकमा ज्यान गुमाइरहेका भने पक्कै हो । विश्वमा प्रतिवर्ष पाँचलाख महिला पाठेघरको क्यान्सरबाट पीडित हुन्छन् । तीमध्ये करिब दुई लाख महिलाहरुको मृत्यु पाठेघरको क्यान्सरकै कारणबाट हुने गरेको छ ।

हालसम्म पनि पाठेघरको क्यान्सरको मुख्य कारण त पत्ता लाग्न सकेको छैन् तर पनि कम उमेरमा नै बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, धेरै व्यक्तिहरुसँग वा एउटै व्यक्तिसँग पनि अत्याधिक यौन सम्बन्ध राख्नु, यौन रोगहरु लाग्नु, यौनाङ्गको राम्रोसँग सफा नगर्नु, सुत्केरी अवस्थामा राम्रो स्याहार नहुनु अर्थात बलको काम गर्नु जस्ता कुराहरुलाई पाठेघरको क्यान्सरको मूल कारण मान्न सकिन्छ ।

नेपालका ग्रामीण तथा दुर्गम भेगका महिलाहरुमा शिक्षा तथा जनचेतनाको कमीका कारण बढि सन्तान जन्माउने, सरसफाइको ज्ञान नहुने, कम उमेरमा सन्तान जन्माउने, यौन रोगहरुलाई लुकाएर राख्ने, भारी कामहरु गर्ने, स्वास्थ्यको ख्याल नगर्ने जस्ता कारणले पनि पाठेघरको मुखको क्यान्सरबाट बढि महिलाहरु पिडित हुने गरेका हुन् ।

विशेष गरेर ४० वर्ष उमेर पुगीसकेका महिलाहरुमा यस्तो क्यान्सरको सम्भावना बढि हुने गर्छ, तर आजभोली ४० वर्ष भन्दा कम उमेरका महिलाहरुमासमेत पाठेघरको क्यान्सर देखिन थालेको छ ।
विशेष गरेर पाठेघरको मुखको क्यान्सर पिडितको संख्या बढ्दै जानुमा महिलाहरुको आफ्नै लापरवाहिलाई पनि एउटा कारण मान्न सकिन्छ । क्यान्सर आँफैमा एक खतरनाक रोग हो, जुन भएपछि पछुताउनु भन्दा पहिले हुन नदिनु नै बुद्धिमानि हुन्छ ।

महिलाहरुमा पाठेघर र स्तन सम्बन्धि समस्याहरु देखिइरहने हुँदा महिलाहरुले यस विषयमा विशेष ख्याल गरि नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराइरहनु पर्छ । मोटा मानिसहरुमा क्यान्सरको सम्भावना बढि हुने हुँदा शरिरको तौललाई सन्तुलित राख्ने प्रयास गर्नु राम्रो हुन्छ ।
खानपानको लापरवाहि पनि रोगको कारण हो । त्यसैले खानपानमा विशेष ध्यान दिने, धुम्रपान, मद्यपानको सेवनबाट टाढा रहने, यौन सम्बन्धि समस्याहरुलाई लुकाएर नराख्ने, विवाह, यौन र सन्तान उत्पादनमा विशेष विचार गर्ने गर्नुपर्छ ।

नेपाल दुर्गम एवम ग्रामीण क्षेत्र बढि भएको एक विकासोन्मुख राष्ट्र हो, जहाँ अधिकांश मानिसहरु ग्रामीण क्षेत्रमा बासोबास गर्ने हुँदा चेतना तथा शिक्षाको कमीका कारण यस्तो समस्याबाट हजारौँ महिलाहरु गुज्रीरहेका छन् । यस विषयलाई मध्यनजर गर्दै सम्बन्धित निकायले पाठेघरको क्यान्सर जस्तो जटिल समस्यालाई न्यूनिकरण गर्न आवश्यक पहल अविलम्व गर्नुपर्ने देखिन्छ ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्