केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सम्बन्धविच्छेद गर्न चाहनेमा महिलाभन्दा पुरुष बढि(सम्पादकीय)

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : ‘पुरुषले चाहे वर्ष दिन महिलाले चाहे एकै छिन’ भन्ने उखान सम्बन्धविच्छेदका हकमा पनि लागु हुन्थ्यो केहि महिना अघिसम्म । तर आज यो अवस्थामा परिवर्तन आएकोे छ, करिब यो दुई महिनाको अवधिमा । सम्बन्धविच्छेदको लागी अदालतको ढोका ढकढक्याउने पुरुषहरु सायदै हुन्थे । भदौ १ गतेबाट लागू भएको देवानी तथा फौजदारी संहिताले पुरुषहरुलाई पनि सम्बन्धविच्छेदको लागी अदालतको ढोका खुकुलो बनाइदिएपछि हाल अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने महिलाको भन्दा पुरुषहरुको संख्या बढेको छ ।

देवानी तथा फौजदारी संहिता लागू हुुनुभन्दा पहिले पुरुषहरु सम्बन्धविच्छेदका लागी अदालत जानु त्यति सजिलो थिएन । सम्बन्धविच्छेदका लागी वडा तथा स्थानीय तहको सिफारिस लिएर मात्र अदालतसम्म पुग्न सक्थे पुरुषहरु । अदालतमा पनि महिलाहरुभन्दा पुरुषहरुको लागी निकै झन्झटिलो प्रकृया थियो । सम्बन्धविच्छेदको फैसलाका लागी वषौँसम्म पनि लाग्ने गर्दथ्यो ।

देवानी ऐन लागु भएसँगै पुरुषका लागी पनि सम्बन्धविच्छेदका लागी सजिलो प्रकृया बनेलगत्तै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा महिलाभन्दा पुरुष बढि देखिएका छन् । काडमाण्डौं जिल्ला अदालतमा भदौ १ गतेपछि परेका १ सय ८५ सम्बन्धविच्छेदका मुद्दामध्ये ९८ निवेदन पुरुषको रहेको छ भने ८७ निवेदन महिलाले दिएका छन् । यस हिसावले हेर्ने हो भने सम्बन्धविच्छेद गर्न चाहने महिलाको भन्दा पुरुषको संख्या धेरै हो । विगतमा सम्बन्धविच्छेदका लागी पुरुषको निवेदन विरलैमात्र देखिने अदालतमा गत दुई महिनाको अवधिमा जम्मा निवेदनमध्ये बढि पुरुषकै भेटिएपछि स्थिति केहि विकराल बन्दै गएको हो ।

यो त भयो राजधानी काठमाण्डौंको तथ्याङ्क । राजधानि बाहिरका अदालतमा पनि पुरुषहरु सम्बन्धविच्छेदमा सक्रिय रहेको देखिएको छ । दाङ जिल्ला अदालतको साढे दुई महिनाको तथ्याङ्कमा पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै भएको पाइएको छ । उक्त अदालतमा साढे दुई महिनाको अवधिमा ६१ जना पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको पाइएको छ ।

यी तथ्याङ्कबाट देशभर नै सम्बन्धविच्छेदका लागी पुरुषहरु सक्रिय बन्दै गएको पाइएको छ ।
सम्बन्धविच्छेदका प्रायः मुद्दाहरुमा वैदेशिक रोजगारी कारण बनेको पाइएको छ । महिला वा पुरुष जसले निवेदन दिएपनि पति वा पत्नि वैदेशिक रोजगारिमा रहेको र परिवारलाई वेवास्ता गरेको अर्थात अन्यत्र सम्बन्ध रहेको कुरा कारणमा खुलाइने गरेको छ । यसका साथै सम्बन्धविच्छेदका अधिकांश घटनामा पश्चिमी संस्कारको प्रभाव र व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिइएकोे होकि भन्ने बुझाई छ ।

स्वतन्त्रताको हकका आधारमा सम्बन्धविच्छेदको माग गर्नु त ठिकै हो तर यहि तरिकाले सम्बन्धविच्छेदको लागी महिला र पुरुषमा तछाडमछाड हुँदै जाने हो भने यसले समाजमा विकृति मात्रै फैलाउन सक्छ । देवानी ऐनले महिला र पुरुषमा समान हक त दियो तर यसले कतै विकृति भने नफैलाओस ।

प्रकाशित : 3 November, 2018

प्रतिक्रिया दिनुहोस्