केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिकराल बन्दै आत्महत्याको समस्या, जवानमात्रै होइन वालवालिका पनि भए यसको सिकार

सहयात्रा टिभी

सहायात्राटीभी :  कसैको दबाबमा नआइ आफ्नो जीवन आँफ्नै खुसीले त्याग गर्नु आत्महत्या हो । जीवनसँग हार मानेर अथवा भनौँ जीवन जिउन नसकेर आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जना व्यक्तिले आत्महत्या गर्छ भने प्रत्येक तीन सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गरिरहेको हुन्छ ।

विश्वको कुल तत्थ्याङ्कलाई हेर्ने हो भने एक वर्षमा करिब ८ लाख मानिसहरुले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार यहि दरमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै जाने हो भने यो संख्या सन् २०२० सम्ममा बढेर १५ लाख पुग्नेछ ।

आत्महत्या गर्नेहरुमा १५ देखि २९ वर्षका उमेरका किशोरकिशोरी तथा युवाहरु बढि रहेका छन् । धेरै जसो आत्महत्या गर्ने मानिसहरुमा मानसिक समस्या हुने गरेको पाइन्छ ।

नेपालमा पनि आत्महत्या गर्ने मानिसहरु दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । नेपालमा प्रत्येक वर्ष १३ प्रतिशतका दरले आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेको छ । विश्वमा आत्महत्या गर्ने देशहरुमा नेपाल सँधै दसौँ स्थानभित्र नै रहने गरेको पाइन्छ ।

प्रहरीको प्रतिवेदनअनुसार नेपालमा वर्षेनी पाँच हजारले आत्महत्या गर्ने गर्छन् । २०७४/ ७५ को प्रहरी रिपोर्टअनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका थिए । यो त प्रहरीमा आएको रिपोर्टको तथ्याङ्क मात्र हो, प्रहरीसम्म नआइपुगेका आत्महत्याका घटनाहरु अन्य धेरै छन् ।

आत्महत्या गर्ने ९० देखि ९५ प्रतिशत मानिसहरुमा मानसिक समस्या रहेको बताइन्छ । वास्तवमा आजभोलीका युवायुवतीहरु सानासाना कुराहरुमा तनाव लिने र डिप्रेसनमा जाने गर्छन् । यस्तो अवस्थामा उनीहरुले परिवार र साथीभाईहरुको साथ पाएनन् भने अन्तिम उपायको रुपमा आत्महत्यालाई नै रोज्ने गर्छन् ।

यौन हिंसा पनि आत्महत्याको मुख्य कारण बन्दै आएको छ । यौन हिंसामा पर्ने, यस बारेमा अरुलाई सुनाउन नसक्ने, सुनाउँदा पनि राम्रो व्यवहार नगर्ने, परिवारले साथ नदिने जस्ता कारणबाट धेरै युवायुवतीहरुले आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ ।

पढाइमा असफलता, प्रेममा असफलता, पारिवारिक कलह, महत्वकाक्षां पुरा नहुनु, यौन हिंसामा पर्नु आदि युवायुवतीहरुको आत्महत्याको मुख्य विषय बन्ने गरेको छ ।

पछिल्लो समयमा बालबालिकाहरुले पनि आत्महत्या गर्ने गरेको पाइएको छ । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने एक वर्षमा २ सय ५० जना बालबालिकाहरुले आत्महत्या गरेको पाइएको छ ।

दिनप्रतिदिन मानिसहरुको व्यस्तता बढ्दै गइरहेको छ । व्यस्त भएसँगै मानिसहरुले आफ्नो परिवारमा समय दिन सकिरहेका छैनन् । जसले गर्दा केटाकेटि र वृद्धवृद्धाहरु एक्लो महशुस गर्ने, अनेक कुराहरु सोच्ने, तनाव लिने र विस्तारै डिप्रेसनमा जाने गर्छन् । डिप्रेसनमा गएका विरामिहरुको समयमा उपचार भएन, परिवारबाट साथ मिलेन भने पनि उनीहरुले आत्महत्या गर्ने गर्छन् । आजभोली बालबालिकाहरुमा आत्महत्या गर्ने सोच आउनुमा यस्तै कारणहरु र टेलिभिजनको देखासिकिलाई पनि मान्न सकिन्छ ।

आत्महत्या गर्ने ट्रेन बढ्दै जाँदा परिवारका प्रत्येक सदस्यले अन्य प्रत्येक सदस्यका बानि व्यवहाहर देखि सबै कुरामा ध्यान दिँदै नजाने हो भने यो तथ्याङ्कले विस्तारै फड्को मार्दै जानेमा कुनै दुई मत छैन् ।

जतिसुकै व्यस्त भएपनि परिवारमा समय दिने, परिवारका सदस्यहरुको समस्यालाई सुनिदिने, आवश्यकता अनुसार सल्लाहसुझाव दिने, कुनै सदस्यले अनौठो व्यवहार गरेको पाएमा उसलाई विशेष ध्यान दिने जस्ता कार्यहरु गर्नुपर्छ । यसले परिवारका कुनै पनि सदस्यमा मानसिक समस्या उत्पन्न हुन दिँदैन, फलस्वरुप आत्महत्याको संख्यामा नियन्त्रण गर्न सकिन्छ ।

आत्महत्यालाई सामान्य मानेर बस्ने हो भने यसले भोलीको दिनमा भयावह स्थिति निम्त्याउने छ । बालबालिका देखि युवायुवती र वृद्धवृद्धाहरुले समेत आत्महत्याको बाटो रोज्न थालेपछि यो अत्यन्तै गम्भिर विषय बन्न पुगेको छ । यस विषयमा प्रत्येक परिवारसहित राष्ट्रले नै गम्भिर भएर सोच्नु पर्ने देखिएको छ ।

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्