केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालबालिकाको मोबाइलप्रतिको बढ्दो क्रेज भविष्यकालागी खतरापुर्ण, के छ त नियन्त्रणको उपाय ???

सहयात्रा टिभी

सहायात्राटीभी : समय तिव्र गतिमा अघि बढिरहेको छ । हिजोसम्म निकै ठूलो लाग्ने संसार पनि प्राविधिक तथा वैज्ञानिक विकासका कारण सानो र साँगुरो लाग्न थालेको छ । मोबाइल फोनका साथै हाल मौलाइ रहेको इन्टरनेटको सुविधाले विश्वलाई साँगुरो बनाएको हो ।

मोबाइल फोन र इन्टरनेट त आजभोली बच्चादेखि युवायुवती हुँदै वृद्धवृद्धाहरुसम्म नै लोकप्रिय बन्दै गएको छ । इन्टरनेटको प्रयोग बढेसँगै यसले केहि राम्रा काममा मद्यत त पु¥याएकै छ, यसले केहि नकारात्मक प्रभाव समेत पारेको अवस्था देखिएको छ । आजभोली कोहि पनि मानिस केहि समयमात्र मोबाइल र इन्टरनेटबाट टाढा भयो भने आफुलाई असहज महसुस गर्न पुग्छ, केहि बिर्सेजस्तो अनि केहि गुमाएजस्तो भान पनि हुन्छ ।

यस्तो अवस्था युवायुवतीहरुमा मात्र नभएर बालबालिकाहरुमा पनि बढ्दै गएको देखिन्छ । हिँजोसम्म मोबाइल फोन कस्तो हुन्छ, कसरी काँहाका मानिसहरुसँग कुरा गर्न सकिएको होला भन्ने आश्चर्यमा पर्ने आमा बुबाका छोराछोरी आजभोली जन्मिएको एक वर्ष पुरा नभई मोबाइमा गीतसंगीत सुनेपछि र रमाइला भिडियोहरु देखाएपछि खुसी भएर हास्ने गर्छन् । जम्मिएको दुई वर्ष नपुग्दै युटुव खोलेर आँफै सर्च गरेर गेम तथा कार्टुन हेर्ने भएका छन् ।

बालबालिकाहरु यति क्रेजी भइसकेका छन् कि अब उनीहरुलाई यो इन्टरनेटबाट छुटाउन नै मुस्किल पर्ने अवस्था समेत आइसकेको छ । मोबाइल नदिएसम्म खाना खाँदिन भनेर घुर्की लगाउने, मोबाइलमा गेम खेल्न नदिए सम्म राति पनि सुत्न नमान्ने, विद्यालय जान नमान्ने भइरहेका छन् ।

बालबालिकाहरु आँफै नै मोबाइलमा आफुलाई मन पर्ने गेम र कार्टुनहरु सर्च गरेर हेर्न सक्छन् । उनीहरु मोबाइल दिएपछि यति ध्यान मग्न हुन्छन् कि अरुले जे जे भने पनि कानले सुन्ने र आँखा मोबाइलबाट हटाउनेवाला हुँदैनन् ।

कतिपय बाबुआमाहरुले छोराछोरीे सानै उमेरबाट मोबाइलमा क्रेजी भएको कुरालाई खास्सै महत्व दिँदैनन् । तर यो निकै गम्भिर विषय हो । महत्व नदिनुसम्म त ठिकै छ कतिपय आमाबुबा त आफ्ना छोराछोरीले सानैदेखि मोबाइल चलाउन, युटुवमा सर्च गरेर भिडियो हेर्न जानेको भनेर मख्ख समेत पर्ने गर्छन भने केहि अभिभावकले भने छोराछोरीलाई खुसी बनाउनको लागी पनि मोबाइल चलाउन दिने गर्छन् ।

बालबालिकाहरु सानै देखि मोबाइलमा क्रेजी हुँदा यसले बालबालिकाको स्वास्थ्य, मनोविज्ञान, समाज र आर्थिक सबै पक्षमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । नियमित रुपमा मोबाइलमा ध्यान दिनाले आँखाको समस्या उत्पन्न हुन सक्छ । लामो समय मोबाइलमा झुन्डिनाले बालबालिकाको मात्र नभएर जोसुकैको पनि आँखा सुख्खा हुने, पोल्न थाल्ने, विस्तारै टाढाका र मसिना कुराहरु देख्न छाड्ने र दृष्टि नै गुम्ने अवस्था समेत आइलाग्न सक्छ । आजभोली अधिकाशं आखाको समस्या लिएर अस्पताल जानेहरुको समस्या मोबाइल र कम्प्युटरले नै उत्पन्न गराएको पाइन्छ । त्यसैगरि मोबाइलफोन बढि चलाउनाले माइग्रेनको समस्या समेत उत्पन्न हुन सक्छ ।

बालबालिकाहरु मोबाइलमा क्रेजी भएपछि अन्य शारिरीक रुपमा कसरत हुने किसिमका खेलहरु खेल्दैनन् । यसले उनीहरुको शारिरीक विकास र तन्दुरुस्तीमा समेत नकारात्मक प्रभाव पर्ने गर्छ ।
मोबाइलमा व्यस्त भएकै कारण उनीहरु अन्य कुराहरुमा ध्यान दिँदैनन् । साथीभाई तथा घरपरिवार र आफन्तहरुसँग पनि घुलमिल हुँदैनन् जसले गर्दा बालबालिकाहरु असामाजिक समेत हुन सक्छन् ।

आजभोलीका बालबालिकाहरु घरबाट बाहिर ननिस्कने, भिडभाड मन नपाराउने, एक्लै बस्न रुचाउने, झर्को मान्ने जस्ता स्वभावका हुन्छन् । विद्यालय गयो, घर आयो, पढ्यो बाँकि समय कोठामा बसेर मोबाइलमा गेम वा कार्टुन हे¥यो यसकै परिणाम हो ।

बालबालिकाहरु मोबाइल फोनमा क्रेज हुँदै जानु भनेको निकै खतरनाक समस्या बढ्दै जानु हो । यस विषयमा प्रत्येक अभिभावकहरुले गम्भिरताका साथ सोच्नै पर्ने देखिन्छ । अभिभावकहरु आफु भने मोबाइलमा व्यस्त भएर छोराछोरीलाइ पढ भनेर हुँदैन, आफु पनि उनीहरुसँगै बस्ने, पढाउने, सिकाउने गर्नु पर्छ । अभिभावक आँफैले मोबाइल चलाइरहयो भने सन्तान पनि चलाउने रहर गर्छन, आमाबुबाले चाँहि चलाउन हुने हामीले नहुने भन्ने गलत प्रभाव पनि बालबालिकामा पर्न दिनु हुँदैन् ।

बालबालिकाहरुलाई समय अनुसार चल्न पनि दिनुपर्छ र सिकाउनुपर्छ । त्यसैले मोबाइल चलाउन निश्चित समय तोकिदिने र सो समय अवधिभित्र मात्र चलाउने अनुमति दिन सकियो भने बालबालिका पनि खुसी हुन्छन् र त्यसले कुनै नकारात्मक प्रभाव पनि पर्न जाँदैन् । त्यसैगरि सन्तानले इन्टरनेट तथा मोबाइलफोनको प्रयोग कसरी गरिरहेका छन्, केके प्रयोग गर्छन् र कसरी गर्छन भन्ने विषयमा भने बारम्बार ध्यान दिनुपर्छ ।

यस्ता कुराहरुलाई सामान्य मानेर ध्यान नदिने हो भने यसले भोली ठूलो दुर्घटना समेत निम्त्याउन सक्छ त्यसैले प्रत्येक अभिभावकहरु आफ्ना सन्तानको यो विषयमा गम्भिर हुन अत्यन्त जरुरी छ ।

प्रकाशित : 22 November, 2018

प्रतिक्रिया दिनुहोस्