केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बढ्दो सडक दुर्घटना, न्यूनिकरणमा ध्यान दिने कि !! (सम्पादकीय)

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : यहि मंसिरको अन्तिम साता चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको स्कार्पियो र एक बस ठोकिँदा बेहुलाका आमाबुबासहित ६ जनाको ज्यान गयो । उक्त घटना सेलाउन नपाउँदै पुषको पहिलो हप्ता भित्रै शैक्षिक भ्रमणमा गएको बस दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना हुँदा २३ जना विद्यार्थीसहितको मृत्यु भयो ।

यी त सडक दुर्घटनाका केहि उदाहरण मात्र हुन् । काठमाण्डौं उपत्यका लगायत देशका ठूल्ठूला शहरहरुमा प्रत्यके दिन सडक दुर्घटनाका भएको र कसै न कसैको ज्यान गएको खबर आजभोलि सस्तो बन्दै गएको छ ।

जलमार्गको सम्भावना नभएको र देशमा रेल यातायातको सुविधा विस्तार भइनसकेको अवस्थामा देशवासिहरुका निम्ति सडक यातायातको साधन नै यात्राको एक मात्र विकल्पहिन विकल्प हो । सडक यातायात असुरक्षित बन्दै जाँदा सडक दुर्घटना र दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्यामा पछिल्लो समय ह्वात्तै वृद्धि भएको देखिएको छ ।

अन्तराष्ट्रिय रेडक्रसको एक तथ्याङ्क अनुसार विश्वमा हाल हरेक वर्ष सरदर १३ लाख मानिसहरुको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ ।

नेपालमा वर्षेनी औषत २ हजार मानिसहरुले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।
आर्थिक वर्ष २०७४।७५ भित्रमा सडक दुर्घटनाबाट नेपालमा २ हजार ९७ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४।७५ मा उपत्यका भित्र मात्र ६ हजार ३ सय ८१ दुर्घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको मंसिर सम्ममा उपत्यका भित्र मात्र ३ हजार ३ सय ५० वटा दुर्घटनामा १ सय ४ जनाले ज्यान गुमाइसकेका छन् ।

दुर्घटना मध्ये अधिकांश दुर्घटना चालकको लापरवाहिका कारण हुने गरेको बताइएको छ । बाक्लिदैँ गएको शहरीकरण र तिव्रगतिमा बढ्दै गएको जनसंख्याले नै असामयीक रुपमा मानिसहरुको ज्यान लिइरहेको छ । सडक दुर्घटना आज सर्वसाधारण जनतादेखि राज्य संचालकहरु समेतमा एक ठूलो चुनौतिको रुपमा खडा भएको छ ।

यातायातका साधनहरुको अनियन्त्रित र असुन्तुलित आयात गरिनु, सडक संरचनामा कमजोरि हुनु, चालक तथा सडक प्रयोगकर्ताहरुको लापरवाहि नै सडक दुर्घटनाको मुख्य कारण बन्दै गएको छ । सडक अतिक्रमण, जीर्ण सडक, सडक तथा सवारी साधन दुवैको मर्मत संभारमा कमि, ट्राफिक नियमको अवहेलना पनि सडक दुर्घटनाका कारण हुन ।

यहि तथ्याङ्क अनुरुप सडक दुर्घटना बढ्दै जाने हो भने यसले मुलुकमा भयानक अवस्था सिर्जना नगर्ला भन्न सकिन्दैन् । एउटा घटना सेलाउन नपाउँदै ठूलो संख्यामा ज्यान गुमाउने गरिको भावुक घटना घटिरहँदा समेत यस विषयमा गम्भिरता पूर्वक सोचिएन भने देशमा अकालमा नै ज्यान गुमाउनेहरुको संख्या कुनै गृहयुद्धमा ज्यान गुमाउने संख्या भन्दा कम नहोला भन्न सकिन्दैन ।

कतिपय अवस्थामा सर्वसाधारणहरुकै कमजोरिले पनि दुर्घटना हुने गर्दछ । ट्राफिक नियमको उल्लघंन गर्ने, केहि समय पर्खिएर यात्रा गर्न नसक्ने मानिसहरुको अधैर्य व्यवहार पनि सडक दुर्घटना र आफ्नै मृत्युको कारण बनिदिन सक्छ । यस विषयमा प्रत्येक सडक प्रयोगकर्ता, यात्रुदेखि चालकहरु समेत धैर्यवान भएर यात्रा गर्नु अति आवश्यक छ । यात्रु र चालकहरु धैर्यवान र ट्राफिक नियमको पालक बन्न सकेभने पनि धेरै हदसम्म दुर्घटना न्यूनिकरण गर्न मद्यत मिल्ने देखिन्छ ।

सडक दुर्घटना र सडक दुर्घटनाबाट ज्यान गुमाउने मासिनहरुलाई पनि नागरिक अधिकार र नागरिक सुरक्षासँग जोडेर सम्बन्धित निकायबाट ठोस कार्यक्रम ल्याइ कार्यान्वयन गर्नु अति जरुरी देखिएको छ । यस विषयमा सम्बन्धित निकायबाट गम्भिरताका साथ ध्यानाकर्षण भइ प्रभावकारी नीति ल्याएर सडक दुर्घटनामा न्यूनिकरणर र नियन्त्रण नगरेसम्म धेरै मानिसहरुको लागी सडकको यात्रा नै असामयीक काल बन्ने निश्चित छ ।

प्रकाशित : 31 December, 2018

प्रतिक्रिया दिनुहोस्