भुकम्प दिवस : जिम्मेवारीबाट पन्छिने बाहाना नबनोस (सम्पादकीय)


सहयात्रा सम्पादकीय :  आज माघ २ गते, देशभर २१औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाँइदै छ । वि.सं. २०५५ सालदेखि प्रत्येक माघ २ गतेबाट मनाँइदै आइएको भुकम्प दिवसको आजको मुल समारोह भने ललितपुरमा रहेको छ । वि.सं. २०१९ साल माघ २ गतेका दिन सगरमाथा केन्द्रविन्दु बनाएर ८.७ रेक्टर स्केलको भुकम्प गएको थियो । त्यस समयमा ठूलो मात्रामा धनजनको क्षति भएको थियो । करिब ८ हजार मानिसले ज्यान गुमाउनु परेको उक्त दिनको सम्झना गर्दै भुकम्पबाट हुने क्षति न्यूनिकरणका लागी २०५५ सालबाट भुकम्प दिवस मनाउँन थालियो ।

१९९० साल पश्चात पनि विभिन्न साना ठूला भुकम्पहरु आइनै रहेका छन् । पछिल्लो समय निकै ठूलो धनजनको क्षति हुने गरि २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर करिब ८ रेक्टर स्केलको महाभुकम्प गयो । उक्त भुकम्पले करिब ९००० मानिसको ज्यान लग्यो भने २२ हजार भन्दा बढिलाई घाइते बनायो । ८ लाख भन्दा बढि घर पूर्ण रुपमा क्षति भइ धेरैलाई घरबार विहिन बनायो । भुकम्प गएको ३ वर्ष नाघिसक्दा पनि, आजको दिनसम्म पनि धेरै भुकम्पपिडितहरु टहरामा गुजारा गर्न बाध्य छन् ।

यी भुकम्पका अविश्मरणीय दुखदायी दिनहरु सम्झीरहँदा, अर्को तर्फ प्रत्येक वर्ष मनाइने भुकम्प दिवसको उपलब्धि पनि सम्झन मन लाग्छ । २०५५ सालदेखि पूर्वतयारी र सतर्कताका लागी मनाइँदै आइएको भुकम्प दिवसबाट के उपलब्धि भयो त ! यहाँ धेरैले ज्यान त गुमाए तर बाँचेकाहरुले समेत भुकम्प गएको तीन वर्षसम्म पनि कुनै सहज जीवन गुजाराको बाटो नभेट्दा तीन वर्ष अघिको घाउ आजसम्म पनि आलै रहेको स्पष्ट देखिन्छ ।

नेपाल भुकम्प जोखिमका दृष्टिले विश्वमा ११ औँ स्थानमा पर्छ । नेपाल भुकम्पको उच्च जोखिममा रहेको मुलुक हो भन्ने कुरा सर्वविदित भइरहँदा समेत भुकम्प जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धमा हालसम्म कुनै ठोस वैज्ञानिक अनुसन्धान हुन सकेको देखिन्दैन ।

२०७२ सालको विनाशकारी महाभुकम्पपछि विभिन्न नीतिनियम र आचार संहिताहरु जारी गरिए । भवन निर्माण आचार संहिता २०७२ पहिले केहि नगरपालिकामा र पछि २०७३ भदौ २६ बाट देशभर लागु गरियो, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ जसले जोखिम न्यूनिकरण गर्ने, नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने अधिकार सङ्घ, प्रदेश र स्थानिय तहलाई समेत दिइएको छ । तर जति नीति, आचार संहिता र ऐननियम बने पनि सक्रिय रुपमा कार्यान्वयन भएको भने देखिएको छैन् । अधिकांश नीतिनियम कागजका पानामा सिमित रहने हो भने वर्षमा एक पटक मनाइएको भुकम्प दिवसको कुनै अर्थ देखिन्दैन ।

भुकम्प एक प्राकृतिक प्रकोप हो जसलाई हामी रोक्न त सक्दैनौँ तर यसबाट हुन सक्ने क्षतिलाई भने अवश्य पनि न्यूनिकरण गर्न सकिन्छ । यसका लागी नागरिकहरु पनि सतर्क रहने र सरोकारवाला पक्ष पनि गम्भिर भएर भुकम्पको जोखिम न्यूनिकरण र व्यवस्थापनमा सक्रिय हुनु पर्ने देखिन्छ ।

वर्षमा एक पटक ¥याली, गोष्ठी, अन्तक्रिया जस्ता कार्यक्रम गरि राष्ट्रिय भुकम्प दिवस मनाँएर कर्मकाण्ड पुरा गरि सरकार जिम्मेवारीबाट पन्छिन भने मिल्दैन् । नीति नियमलाई इमान्दारीका साथ तीव्र गतिमा कार्यान्वयन गर्ने र आगामी दिनमा भुकम्पबाट २०७२ सालको जस्तो हृदयविदारक अवस्था भोग्न नपर्ने वातावरण सृजना गर्नु अति जरुरी देखिन्छ । सम्बन्धित पक्ष गम्भिर भएर बनेका नीतिनियम र आचार संहिता लागु नगरेसम्म, भुकम्पिय जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धमा ठोस वैज्ञानिक अनुसन्धान नभएसम्म भुकम्प दिवस मनाउनु केवल जिम्मेवारीबाट पन्छिने वाहाना मात्र हुनेछ भन्दा फरक नपर्ला ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज