आज जनै पूर्णिमा/ रक्षा बन्धन/ क्वाति खाने दिन


काठमाडौं । श्रावण–१९ “येन बद्धो वलीराजा दानवेन्द्रो महावल:।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।”

अर्थात “जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।”

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा धागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात ‘गुंपुन्हि’ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।विशेषतः ब्राह्मण, क्षत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारीएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जोकोही सनातन धर्मका अनुयायीले पनि जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका जनैहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ ।साथै जनै धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आजभोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातिय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ‘रक्षा’र ‘बन्धन’। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ ‘सुरक्षाको गाँठो’ हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफुले दिदीबहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदिबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसिको प्रार्थना गर्न आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनको धागो बाधिदिने चलन छ। त्यसैगरि दाजुभाइले पनि दिदिबहिनिलाई उपहार दिन्छन् र आफ्ना दिदिबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले ‘क्वाति’ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज