केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नक्सा मिलेन, भद्दा देखियो :संघीय ससंद्का सदस्यहरू

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०१, संघीय ससंद्का सदस्यहरूका लागि संसद् सचिवालयले तयार पारेको लोगो विवादमा परेको छ । सांसद्हरूले लोगो नक्सा नमिलेको र भद्दा देखिएको भन्दै विरोध जनाएका छन् ।यस बारेमा संसद् सचिवालयले भने हातले निर्माण गरेकाले केही भद्दा देखिएको प्रष्टिकरण दिएको छ ।


टेकवीर मुखियाले डिजाइन गरेको लोगो घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले बनाएको हो । उद्योगका कालीगढले हातले नै उक्त लोगो निर्माण गरेका हुन् ।उक्त लोगोमा नक्सा गलत ढंगले राखिएको र नक्साको आकार पनि नमिलेको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन् । सत्तारुढ नेकपाका उपनेता सुवास नेम्वाङले लोगोमा नक्साको पश्चिमी भाग उठेको हुनुपर्नेमा त्यसो नभएको र सोझो राखेको भन्दै असन्तुष्टि जनाए ।यस्तै सांसद विरोध खतिवडाले लोगो भद्दा देखिएको प्रतिक्रिया दिएका थिए । यसअघिको लोगो नै राम्रो भएको र त्यसमा नै नयाँ नक्सा राखेको भए राम्रो हुन्थ्यो भन्ने उनको भनाइरहेको थियो ।

सांसद विजय सुब्बाले संसदको लोगोलाई लिएर सामाजिक संजालमा विरोध जनाएका छन् । उनले लेखेका छन्, “प्रचारमा आए अनुसार हो भने यति साह्रो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु ? यो कसरी स्वीकृत भयो होला ? यस्तो निर्माता कस्तो होला?ल अब तयार भयो भनि दिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ ।”कांग्रेस सांसद डिला संग्रौलाले भने लोगोको तस्बिर हेर्दा भद्दा लागेको बताइन् । उनको प्रश्न थियो, “त्यस्तो लोगो पनि हुन्छ ? तस्बिर हेर्दै भद्दा लाग्यो ।” केही सांसदहरूले भने सस्तोमा लोगो बनाउँदा बिगारिएको हुनसक्ने आशंका पनि गरेका छन् ।राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेकी सांसद शशी श्रेष्ठले भने स्वदेशी उत्पादन प्रवर्द्धन गर्न स्वीकार गरेको बताइन् । लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो । ‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन नसकेको’उनले बताइन् ।सांसद रामकुमारी झाँक्रीले पनि लोगो भद्दा भएको बताइन् । निर्माणकर्ताले लोगोको फिनिसिङमा ध्यान नदिँदा भद्दा भएको उनको भनाइ थियो । आफूहरुले स्वदेशी उद्योगलाई सधै प्रवर्द्धन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भएपनि सांसदले लगाउने लोगोको भद्दा भएकोमा उनले असन्तुष्टि व्यक्त गरिन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले लोगोमा राखिएको नक्सा सही नभएको, झण्डा पनि सही नराखिएको भन्दै संसद सचिवालयका अधिकारीको ध्यानाकर्षण गराएको जानकारी दिइन् । विभागीयमन्त्री उनले सांसदले लगाउने लोगो आकर्षक बनाउनुपर्ने र नक्सा राख्दा ध्यान दिनुपर्ने भन्दै सचिवालयलाई भनेकी हुन् ।सोमबारसम्म ७५ भन्दा बढी सांसदले लोगो बुझिसकेको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । संसदीय समितिहरू पनि नबसिरहेको र संसद अधिवेशन पनि अन्त्य भएकाले सांसदहरूले लोगो नलगिसकेको उनको भनाइ थियो ।लोगोप्रति सांसदहरूले जनाएको असन्तष्टि र सामाजिक संजालमा आएका प्रतिक्रियालाई मध्यनजर गरी बिग्रिएका केही लोगोहरू फिर्ता पठाइने धमलाले जानकारी दिए । यसअघिकै प्रक्रिया अपनाएर नयाँ लोगो निर्माण गरिएको उनको भनाइ थियो ।यस लोगो निर्माण गर्नका लागि संसद सचिवालयले करिब २० लाख रुपैयाँ खर्च गरेको छ ।नेपालको नक्सामा भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि संसद्को लोगो पनि परिमार्जन गरिएको हो ।लोगोमा राखिएको झण्डा पनि नमिलेको सांसदहरूले बताएका छन् । झन्डामा रहेका चन्द्र र सूर्य नमिलेको, छेउको रङ पनि नमिलेको भन्दै सांसदहरूले विरोध जनाएका हुन् ।

प्रकाशित : 17 August, 2020

प्रतिक्रिया दिनुहोस्