केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘रफ–लोगो’ थियो, मलाई थाहै नदिई फाइनल गरिएछ, ‘कलाको सम्मान हुँदैन भने पारिश्रमिक फिर्ता लैजानुहोस्’ :मुखिया

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०२, संघीय सांसदहरुले छातीमा टाँसेर हिड्ने लोगोका परिकल्पनाकार टेकवीर मुखिया अहिले आफैं अचम्ममा परेका छन् । आफूले संसदमा बुझाएको लोगोमाथि जबरजस्ती रंग–माटो थोपरेजस्तो आकृतिमा सोमबार त्यो संघीय लोगो सार्वजनिक भएपछि उनी रातैभर सुत्न सकेनन् ।

‘मैंले दुइवटा लोगोको खाका बुझाएको थिएँ, छानिएपछि खबर गर्नुहोला, म त्यसलाई फाइनल गरौंला भनेकै थिएँ,’ मंगलबार बिहानै भैंसेपाटी निवासमा भेटिएका ८७ बर्षिय कलाकार मुखिया केही रिसाएको शैलीमा भन्दै थिए, ‘यसरी आफूखुशी जे गर्न पनि पाइन्छ? हिजो टेलिभिजनमा देखेरमात्रै थाहा पाएँ, मैंले बनाएको लोगो कुनै नानीबाबुलाई फेरि बनाउन लगाएर सुन–चाँदीको जलप हालिएको जस्तै रहेछ ।’नभन्दै मुखियाले परिकल्पना गरेको र बनाएको ‘स्याम्पल लोगो’मा यसरी भद्दापन जोडिएको थिएन । राष्ट्रिय सभा अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले सोमबार संघीय संसदको ‘जलपयुक्त लोगो’ सार्वजनिक भएपछि र सांसदहरु समेतले यो चिन्हमा आक्रोश जनाएपछि यसबारेमा ‘बचाउ’ गर्दै फेसबुकमार्फत प्रतिक्रिया दिइसकेका छन् । उनका अनुसार, मुखियाले बनाएको लोगोलाई पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालयमा रहेका कालीगढले हातैले कुँदेर यो पछिल्लो लोगो तयार गरिएको हो ।‘संसदका कर्मचारीले मेरै घरमा आएर दिनभर ढुकेर पहिलो चरणमा लोगो बनाउन लगाएका थिए, मैले यो लोगोको खाका ‘रफ’ हो है भनेको नै थिएँ । पछि संसदको एउटा बैठकमा पनि यसबारे छलफल गर्दा मलाई बोलाइएको थियो,’ मुखियाले भने, ‘तर, म कलाकार स्वयमले ‘रफ’ र ‘स्याम्पल कपी’ भनिरहेकै बेला त्यही डिजाइनलाई ‘रिप्लिका’ झैं गरेर जबरजस्ती प्रयोगमा ल्याइएको हिजो मात्रै थाहा पाएँ । त्यो लोगो छानिएपछि म त्यसलाई फाइनल गरौंला भनेकै थिएँ, तर कहींकतैबाट कसैले यसबारे जानकारी दिएन ।’उनले निराश हुँदै बताए ।उनले बुझाएका दुई लोगोमध्ये पारित भएकोमा महिला–पुरुषको हातले घेरिएको नेपालको नयाँ नक्सा र झण्डा उल्लेख छ, पारित हुन नसकेको अर्को लोगोमा जौको बालाले घेरिएको प्रतीक चिन्ह रहेको छ ।विगतमा पञ्चायतकाल, प्रजातन्त्र र गणतन्त्रका तीनवटा संसदीय लोगो डिजाइन गरेर राष्ट्रको चिनारीमा जोडिँदै आएका प्रखर कलाकार मुखियाले ‘सरकारी पद्धति र कार्यशैलीका कारण यसपटक आफ्नो नाम र पहिचान बिगार्ने काम भएकोमा’ चिन्ता पनि व्यक्त गरेकाछन् । यो लोगो बनाएबापत मुखियालाई सरकारले ५० हजार रुपैयाँ दिएको थियो । कर काटेर ४२ हजार रुपैयाँ हात परेको उनले जानकारी दिएकाछन्। ‘मेरो कलाको सम्मान हुँदैन र यसरी जथाभावी उपयोग गरिन्छ भने यसबापत मलाई दिइएको पारिश्रमिक म आजै फिर्ता गर्न तयार छु,’ मुखियाले भने, ‘सृजनामा रंग, कला, डिजाइनको अर्थ र महत्व के हुन्छ भनेर सुरुमा सरकारी कर्मचारीलाई बुझाउनु पनि जरुरी देखियो, यसरी जथाभावी गर्न पाइन्न ’अलि आक्रोशित हुँदै उनले भने ।

प्रकाशित : 18 August, 2020

प्रतिक्रिया दिनुहोस्