सरकारले तोके भन्दा बढी मुल्यमा पीसीआर जाँच


काठमाडौं । भाद्र –१२, निजी अस्पतालहरूले पीसीआर परीक्षणको शुल्क आफूखुसी लिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेकामा कतिपय निजी अस्पतालले ७ हजार ५ सय रुपैयाँसम्म लिएको भेटिएको छ ।


पीसीआर गराउन आवश्यक पर्ने भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट र अन्य खर्च बजार मूल्यअनुसार बढीमा २ हजार ५ सय मात्रै पर्छ । तर, सरकारले पीसीआर गर्न ५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । सरकारले पीसीआर गराउने शुल्क नघटाउँदा निजी र सरकारी अस्पतालले समेत पीसीआरलाई नाफा कमाउने आधार बनाइरहेको पाइएको छ ।ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले भर्ना हुने बिरामीसँग ७ हजार ५ सय रुपैयाँ लिएर स्वाब संकलन गर्ने गरेको छ । स्वाब संकलन गरेर अनुमति प्राप्त अस्पतालमा पीसीआर गराउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्धारण गरेको शुल्कमा १० प्रतिशतसम्म बढी लिन पाइन्छ ।धापासीको ग्रान्डी अस्पतालले पनि बिरामी संग ७ हजार ५ सय रुपैयाँ पीसीआर परीक्षण शुल्क लिने गरेको पाइएको छ ।अस्पताल प्रशासनकी अर्चना प्रधानले भन्छिन् ‘हाम्रोमा पीसीआर परीक्षण हुँदैन, अन्यत्र लैजानुपर्ने भएकाले ढुवानी र स्वाब निकाल्न खटिएका कर्मचारीको पारिश्रमिकका लागि ७ हजार ५ सय रुपैयाँ लिने गरेका छौं,’ , ‘हाम्रोमै पीसीआर हुने हो भने सरकारले तोकेकै मूल्यमा गर्न सकिन्थ्यो ।’प्रयोगशालाका अनुसार ग्रान्डी र नेपाल क्यान्सर अस्पतालले ६ हजार ५० रुपैयाँ मात्रै लिन पाउँछन् । यी दुई अस्पतालले सरकारले निर्धारण गरेको भन्दा १ हजार ४ सय ५० रुपैयाँ बढी शुल्क लिइरहेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर गराउन स्वीकृत लिएकै अस्पतालले समेत महँगो शुल्क लिएको पाइएको छ । यसरी शुल्क लिनेमध्येको एक हो, ललितपुरको मेडिसिटी अस्पताल । यो अस्पतालले पीसीआर परीक्षण गर्न नेपालीसँग ६ हजार रुपैयाँ र विदेशीसँग ७ हजार रुपैयाँ लिने गरेको छ । अस्पतालका डा। नरेन्द्र तिमिल्सेनाले भने ,‘सरकारले तोकेको ५ हजार ५ सय हो तर पीपीई र स्वाब संकलन गर्ने भीटीएमका लागि हामीले थप १० प्रतिशत लिने गरेका छौं’ ।त्यसो त मेडिसिटी आफैंले स्वाब संकलन गरेर परीक्षण गर्न अनुमति पाएको छ । बिहीबारसम्म १ हजार १ सय जनाको पीसीआर परीक्षणसमेत गरिसकेको छ । तीमध्ये चार जनामा कोरोना पोजिटिभ देखिएको छ ।

निजी अस्पताल मात्रै होइन, सरकारी अस्पतालले पनि पीसीआरलाई नाफा कमाउने आधार बनाएको पाइएको छ। पाटन, वीर र त्रिवि शिक्षण अस्पतालले कोरोनाको लक्षण भएका बिरामीसँग पनि शुल्क लिएर मात्रै पीसीआर गराउँदै आएका छन् । स्रोतका अनुसार वीरले २ हजार ५ सय जनाभन्दा धेरैको ५ हजार ५ सय रुपैयाँ शुल्क लिएर पीसीआर गर्दा करिब १ करोड ४० लाखभन्दा बढी उठाइसकेको छ ।जब कि पीसीआर गर्न भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट सरकारले उपलब्ध गराउने गरेको छ ।शिक्षण अस्पतालमा स्वाब दिनुअघि नै ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने बिरामीहरु बताउँछन् । शिक्षणले भीटीएमसमेत संक्रमितलाई किन्न लगाउने गरेको छ । यसै सम्बन्धमा अस्पतालका चिकित्सक डा. सन्तकुमार दासले केहीअघिसम्म बिरामीलाई भीटीएम किनाए पनि अहिले त्यस्तो नभएको बताउँछन् । ‘निजी अस्पतालले घरघरमै गएर नमुना संकलन गर्न थालेपछि हाम्रोमा पैसा तिरेर पीसीआर गर्ने कम मात्रामा छन्,’ उनले भने ।शिक्षण अस्पतालले ५ हजार ५ सयमा पीसीआर गराइरहेको उनले बताए ।पाटन अस्पतालले ५ हजार ५ सय ७५ रुपैयाँ लिएर मात्रै पीसीआर परीक्षण गराउने गरेको छ । टिकटवापत भनेर अस्पतालले ७५ रुपैयाँ बढी लिएको हो । यी तीनवटै अस्पतालले आफैं स्वाब संकलन गर्न सरकारबाट अनुमति पाएका छन् भने अन्य अस्पतालले संकलन गरेका स्वाब पनि परीक्षण गर्दै आएका छन् ।नेपाल प्रहरीले पनि उपत्यकाका कुन अस्पतालले कति शुल्कमा पीसीआर गराइरहेको छ भन्ने तथ्यांक संकलन गरेको छ । वीर, पाटन, टिचिङले सरकारी कार्यालयबाट सिफारिससहित आएकालाई निःशुल्क पीसीआर गराउने गरेको प्रहरी तथ्यांकले देखाउँछ । अन्यको हकमा भने शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले यी तीन अस्पतालमा पीसीआर गराउनेमध्ये २५ प्रतिशतसँग मात्रै शुल्क लिन पाइने र ७५ प्रतिशतलाई निःशुल्क पीसीआर गराउनुपर्ने निर्णय गरेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा.रुना झाले पीसीआर गर्न निजी अस्पतालले ९ हजार रुपैयाँसम्म लिएको गुनासो आए पनि बिल नपाउँदा कारबाही गर्न नसकिएको बताइन् । ‘पीसीआरमा मनलाग्दी शुल्क लिएको गुनासो आएको छ, यसलाई रोक्न हामी लागिपरेका छौं,’ उनले भने, ‘घरघरमा पीसीआर गराउने गरेको समेत थाहा पाएपछि यसलाई रोक्न सूचना निकालिसकेका छौं । बढी शुल्क लिएको विषयमा हामीले छानबिन गरिरहेका छौं ,’उनी भन्छिन् ।काठमाडौंमा २१ वटा स्वास्थ्य संस्थाले स्वाब संकलन गर्ने गरेका छन् । निजीमा सबैभन्दा कम मूल्यमा बिथ ल्याब ललितपुर र नेपाल–भारत मैत्री अस्पताल मित्रपार्क काठमाडौंले पीसीआर गराइरहेका छन् । ललितपुरका १० वटा र भक्तपुरका २ वटा स्वास्थ्य संस्थाले स्वाब लिने गरेका छन् । वीर, मनमोहन मेमोरियल अस्पताल, ह्याम्स, भेनस, बयोधा, काठमाडौं मेडिकल कलेज, स्टार, आनन्द वन, बीएन्डबी, नेपाल–कोरिया मैत्री अस्पतालमा मात्रै सरकारले निर्धारण गरेको ५ हजार ५ सय रुपैयाँमा पीसीआर गराउने गरेको पाइएको स्रोतको भनाई छ ।

 

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज