केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२५ बर्षमा एटीएम

सहयात्रा टिभी

काठमाडौं । भाद्र–१४, नेपालमा एटीएम मेसिन सञ्चालनमा ल्याइएको २५ वर्ष पुरा भएको छ । २०५२ मा हिमालयन बैङ्कले एटीएम बुथ सञ्चालन गरी नेपालको बैङ्किङ क्षेत्रमा डिजिटल युगको नयाँ अध्याय थपेको थियो तर कार्डको प्रयोग भने त्यसअघि नै २०४७ सालमा नबिल बैङ्कले थालेको थियो ।एटीएम ल्याइएको सुरुवाती वर्षमा यसको कारोबारकेही थिएन । प्रयोगकर्तामा ज्ञान पनि थिएन । सन् २०११ मा यो सङ्ख्या प्रतिलाखका लागि करिब ७.३ प्रतिशत थियो ।तर त्यो विस्तार भई सन् २०१८ मा प्रतिएक लाख जनसङ्ख्याका लागि करिब १३.७८ प्रतिशत एटीएम मेसिन रहेका छन् । सन् २०१९ डिसेम्बरसम्म ६८ लाख १९ हजार ६०२ डेबिट कार्ड प्रयोगमा रहेको पाइएको थियो। नेपाल राष्ट्र बैङ्कका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन् । ७४७ स्थानीय निकायमध्ये प्रायः सबैमा बैङ्कसँगै एटीएमको पनि पहुँच पुगेको छ ।हाल प्रायः सबै वाणिज्य बैङ्क मात्र नभई सहकारीले समेत एटीएमबाट ग्राहकलाई सेवा दिन थालेका छन् । एटीएमको प्रयोग व्यापक रहँदा यसको कारोबार बढेको पाइएको छ । हाल नेपालमा तीन हजार ९५० एटीएम मेसिन रहेका छन् ।

कोरोनाका कारण भएको लकडाउनका कारण बैङ्कहरूले डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदा यी एटीएमबाट एक महिनामा ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँसम्म निकालिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार गत असार महिनामा मात्रै ६३ लाख दुई हजारपटकको कारोबारमार्फत एटीएम मेसिनबाटै ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँ निकालिएको छ । जुन अघिल्लो महिना ९जेठ०भन्दा १४ अर्ब रुपियाँले बढी हो । जेठ महिनामा ४६ लाख ६३ हजारपटकको कारोबारबाट ४० अर्ब २७ करोड ७० लाख रुपियाँ निकालिएको थियो ।राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार वैशाखमा ३४ लाख ८९ हजार कारोबार सङ्ख्याबाट २७ अर्ब ८४ करोड ७० लाख रुपियाँ निकालिएको थियो ।पछिल्लो समय चेकबुक लिएर बैङ्कका शाखामा लाइन बस्नुपर्ने झन्झटले गर्दा एटीएम कार्डका प्रयोक्ता बढ्दै गएका कारण एटीएममार्फत हुने कारोबार बढ्दो क्रममा छ ।यस विषम परिस्थितिमा मानिसहरू बैङ्कमा चेक साट्न जाने अवस्था नभएका कारण एटीएमको प्रयोग बढेको हो ।त्यसैलाई ध्यानमा राखी नेपाल राष्ट्र बैङ्कले जुनसुकै बैङ्कको कार्डबाट जुनसुकै बैङ्कको एटीएम प्रयोग गर्न सकिने र त्यसमा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएको छ । त्यसअनुरूप बैङ्कको काउन्टरसम्म पुग्ने, लाइन बस्नेभन्दा पनि टोल छिमेक र पायक परेको ठाउँमा एटीएमबाट पैसा निकाल्ने क्रम बढेको हो ।राष्ट्र बैङ्कले पछिल्लो समयमा ग्राहकलाई डिजिटल बैङ्किङमार्फत कारोबार गर्न भनिरहेको छ । राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल भन्छन्, “एटीएम अत्यावश्यक पर्दा रकम झिक्ने माध्यम हो, यसबाटै लाखौँ लाख रुपियाँ झिकेर कारोबार गर्ने होइन । धेरै रकमको कारोबार गर्नुपर्दा विद्युतीय माध्यमबाट गर्न नै आग्रह गर्दै आएका छौँ । ”विद्युतीय कारोबार सुनिश्चित गरी सम्भव भएसम्म ग्राहकलाई त्यसतर्फ प्रोत्साहन गर्न पनि राष्ट्र बैङ्कले भनेको छ । साथै राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गराउन पनि बैङ्कहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित : 30 August, 2020

प्रतिक्रिया दिनुहोस्