केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनाको महामारीमा पनि कतारद्वारा मजदुरको तलब वृद्धि

सहयात्रा टिभी

एजेन्सि । भाद्र –१८, विश्वमा कोरोनाका कारण रोजगारी गुमाउने मानिसको सङ्ख्या बढिरहेको अवस्थामा कतारले नेपालीसहित कामदारको तलब बढाएको छ । नेपाली युवाको रोजगारीको गन्तव्य मुलुक कतारले कामदारको न्यूनतम तलब एक हजार कतारी रियल अर्थात् नेपाली ३२ हजार रुपियाँ तोकेको छ । साथै, कामदारलाई बस्न आवास खर्चबापत पाँच सय र खानाको लागि तीन सय गरी जम्मा १८ सय रियल तोकेको हो । तर, आवास र खानाको सुविधा कम्पनीले उपलब्ध गराएको खण्डमा एक हजार रियाल मात्रै दिए पुग्नेछ ।

यो न्यूनतम तलब घरेलु श्रमिकको हकमा पनि लागू हुने बताइएको छ । राजपत्रमा प्रकाशित भएको छ महिनापछि यो नियम कार्यान्वयनमा आउने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले बताएको हो । साथै, कामदारले कम्पनी परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति चाहिने बाध्यकारी नियम पनि हटाइएको छ । यो नियमले कामदार अर्को कम्पनीमा काम गर्न जाने बाटो खुलेको छ ।कतारले गरेको यो व्यवस्था नेपाली कामदारको लागि स्वागतयोग्य भएको वैदेशिक रोजगार विज्ञ डा। गणेश गुरुङ बताउनुहुन्छ ।कतारमा सन् २०२२ मा विश्वकप फुटबलको आयोजना हुने लागेकाले पनि समयमै निर्माणको काम सिध्याउन विदेशी श्रमिकको आवश्यक पर्ने भएकाले पनि कामदारहरूको तलब बढाएको हो ।मानव अधिकारवादी संस्थाहरूले त्यहाँ कार्यरत कामदारको हकहितको बारेमा सुक्ष्म तरिकाले हेरेको र कामदारको विषयमा नराम्रो सन्देश जाने डर र दबाबको कारण तलब बढाउन कतार बाध्य भएको ड. गुरुङ बताउनुहुन्छ ।एक कामदार अर्को कम्पनीमा काम गर्न सीधै पाइने नियम राम्रो भएको र अब कामदार थुनिएर एउटै कम्पनीमा काम गर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ । कतारमा विश्वकप तयारीको लागि होटल, एअरपोर्ट, सडकलगायत निर्माणका काम समयमै सम्पन्न गर्नको लागि कतारसामु चुनौती बनेको छ । उक्त चुनौतीलाई पूरा गर्न कामदारलाई खुशी पार्न यो नियम ल्याइएको डा.गुरुङको दाबी छ ।नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव मेघनाथ भुर्तेलले कतारले नेपाली कामदारको तलब बढाउने कुरा वैदेशिक रोजगारीमा जाने कामदारको लागि राम्रो कुरा भएको प्रतिक्रिया दिनुभयो ।
नेपाली कामदार विदेशमा गएर लगनशील, इमानदार भएका कारण विदेशमा नेपाली कामदारको माग बढिरहेको भुर्तेल बताउनुहुन्छ । कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेका छन् । कतारमा त्यसको लगभग १५ प्रतिशत मात्रै कतारीहरूले ओगट्ने र बाँकी अन्य देशबाट गएका श्रमिक रहेको बताइन्छ । गोरखापत्रबाट

प्रकाशित : 3 September, 2020

प्रतिक्रिया दिनुहोस्