केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चाडपर्वलाई लक्षित गरेर सरकारले आजदेखि सुपथ मूल्य पसल खोल्ने

सहयात्रा टिभी

काठमाडौं । असोज–१५, मुख्य चाडपर्वलाई लक्षित गरेर सरकारले आजदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभरका कार्यालय, डिपो÷डिलर तथा घुम्ती सेवामार्फत आजदेखि सुपथ मूल्य पसल खोल्ने भएको हो ।

 

काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरमा सुपथ मूल्यका पसल खुल्दैछन् । काठमाण्डौ उपत्यकाका यी ठाउँसहित देशका मुख्य सहरमा पसल सञ्चालन हुनेछन् । देशभरका ४९ ठाउँमा पसल खोलिने मन्त्रालयले जनाएको छ । त्यस्तै उपत्यकाका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउनेछ । यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्नेछ ।

दशैं, तिहार, छठ पर्वलाई लक्षित गरेर सञ्चालन हुने सुपथ पसलमा नुन प्रतिकिलो १८ रुपैयाँमा पाइने छ । खुद्रा मूल्य नुन २० रुपैयाँ पर्छ । मन्त्रालयका अनुसार नुन प्रति परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । सुपथ मूल्य पसलमा मासुसमेत छुटमा किन्न पाइने छ । खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 1 October, 2020

प्रतिक्रिया दिनुहोस्