केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दसैंमा घटस्थापनादेखि बिदा दिन सचिवहरूको सुझाव,प्रधानमन्त्री असन्तुष्ट

सहयात्रा टिभी

काठमाडौं । असोज–२८, कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् ।

 

 

सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र रहेको छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर यस्तो सुझाव दिएका हुन् ।मुख्यसचिव शंकरदास बैरागीलाई सचिवहरूले भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दसैं बिदा लम्ब्याउन सुझाव दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘दसैंमा घटस्थापनादेखि बिदा दिने भन्नेबारे छलफल हुँदै छ । सुझाव आएका छन् । कुनै निर्णय भइसकेको छैन,’ ‘संक्रमणलाई रोक्न त्यो पनि एउटा विकल्प छ ।’सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज २५ गते मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखापरेको बताएका थिए । उनले उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकाले व्यवस्थापनमा समस्या पर्न थालेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । उनले यसअघि नै यसपटकको दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन पनि आग्रह गरिसकेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको असोज २६ गते बसेको बैठकमा सांसदहरूले काठमाडौंको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सिल गर्नुपर्ने सुझाएका पनि छन् ।यही अवस्थामा कोरोना संक्रमण बढ्दै गए काठमाडौं उपत्यकामा लकडाउन गर्नुपर्ने सल्लाह कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सरकारलाई दिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार पुग्यो भने लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिइसकेकोकुरा त विदितै छ । तर सचिवहरूले लामो बिदाको माग गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने यस विषयमा रुचि देखाएका छैनन् । संक्रमणको यस्तो अवस्था कति लामो समय जान्छ भन्ने यकिन नभएकाले यसरी लामो बिदा दिँदा गलत नजिर बस्ने प्रधानमन्त्रीको भनाइ छ । विगतमा जस्तै नियमित रूपमा नै कार्यालय सञ्चालन गर्ने तर चाडपर्वका बेला धेरै काम गर्नुपर्ने अवस्था नहुने भएकाले थोरै कर्मचारीलाई प्रयोग गर्न सकिने बुझाइ प्रधानमन्त्रीको रहेको एक मन्त्रीले बताए। कम कर्मचारीबाट काम गराउने, कार्यालयहरूमा सामाजिक दूरी र स्वास्थ्य अनुशासन राम्ररी पालना गर्ने विधिलाई अझ प्रभावकारी बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री रहेको बताइएको छ ।

प्रकाशित : 14 October, 2020

प्रतिक्रिया दिनुहोस्