केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गौतमविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२६,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको निर्णयप्रति परेको रिट निवेदनमाथिको सुनुवाई आज संवैधानिक इजलासमा हुँदैछ ।

चाडपर्व तथा कोरोना भाइरासको संक्रमणका कारण प्रभावित हुँदै आएको उक्त मुद्दाको सुनुवाई आज हुन लागेको हो । सर्वोच्च अदालतले पेशी तोकेको मुद्दाको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासमा हुँदैछ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका बताइएको छ ।यसअघि न्यायाधीश आन्दनमोहन भट्टराइको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएपछि संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै रोकिएको रिटको सुनुवाई आजका लागि तोकिएको हो । सर्वोच्चले यसअघिको आदेश उल्ट्याउन सक्ने सम्भावना रहेको छ ।राष्ट्रियसभा सदस्य उपाध्यक्ष गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । निवेदक त्रिपाठीले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति मनोनितको कोटामा राष्ट्रियसभामा जानु संविधान, जनमत विपरित भएको जिकिर गरेकाछन्। जनमत, संविधानवाद्, लोकतान्त्रिक मूल्य मान्यता, नैतिक मूल्यका आधारमा नियुक्ति बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।उक्त रिटमा असोज १४ गतेदेखि संवैधानिक इजलास सुनुवाई सुरु भएको थियो । त्यसपछि कात्तिक १६ गते गौतम पक्षका केही वकिलले बहस गरेपछि ‘हेर्दाहेर्दै’ राखिएको रिटमाथि सुनुवाई हुन सकेको थिएन । प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले पराजित व्यक्ति मनोनित हुन सक्ने वा नसक्ने भन्ने विषय ‘गम्भीर संवैधानिक व्याख्या’को विषय भएकाले संवैधानिक इजलासबाट निरुपण गर्न आदेश दिएको थियो ।प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अशोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरेकीथिइन्।

प्रकाशित : 11 November, 2020

प्रतिक्रिया दिनुहोस्