केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लोडसेडिङको सन्त्रास

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : दिनप्रतिदिन चिसो बढेसँगै साँझ–बिहान दिनहुँ जसो झ्याप–झ्याप बिजुली जान थालेको छ। यसले उपभोक्तालाई फेरि लोडसेडिङका अध्याँरा दिन फर्कने हुन् कि भन्ने संशयले त्रसित बनाउन थालेको छ। सामाजिक सञ्जालमा चौतर्फि रुपमा विद्युत कटौतिप्रति सरकार र नेपाल विद्युत प्राधिकरणको चर्को आलोचना पनि भइरहेको छ ।

चार वर्षदेखि ढुक्कसँग विद्युत् उपयोग गरिरहेका जनता अहिले घरीघरी बत्ती गईरहेपछि त्रसित भएका हुन् । विगत तीन महिनादेखि देखिएको यो समस्याले उपभोक्ता मारमा परेका त छन् नै उज्यालो भविष्यप्रति पनि शंका उव्जाएको छ । लोडसेडिङको अन्धकार युग सकियो भनेर ढुक्क भएका आम नेपाली जनता समय समयमा बत्ती गईरहने क्रम बढेपछि मानिसमा फेरि शंका पैदा हुन थालेको हो । प्राधिकरणले यो नितान्त प्राविधिक समस्या भएको र छिट्टै समाधान गरिने बताइरहे पनि कतिपय ठाउँमा समय तोकेरै विद्युत् कटौती गर्न थालिएको छ । यसले हाम्रो समग्र विद्युत् उत्पादन, आयात तथा वितरण प्रणालीमा समस्या छ भन्ने प्रष्ट पारिदिएको छ ।

‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिए’ जस्तै कुनै बेला दिनको १८ घण्टासम्म लोडसेडिङ खेपेका नेपाली अहिले बिजुली जानासाथ आशंकित हुनु अस्वाभाविक होइन । त्यसमाथि, जाडो बढेसँगै देशभर पूर्वजानकारीबिना पटक–पटक विद्युत् अवरुद्ध भइरहेको छ ।

चार वर्षपहिले लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुलुकलाई निकालेर प्राधिकरणको नेतृत्वमा रहेका कुलमान घिसिङ लोकप्रिय बनेका थिए । तर, तिनै घिसिङ अहिले प्राधिकरणको नेतृत्वमा नहुनासाथ बत्ती जान थालेको आम जनताले बताईरहेका छन् । यसले नेपाल विद्युत् प्राधिकरणको संस्थागत क्षमतामा रहेको समस्या छर्लंग पारेको छ । किनकि कुलमानको बहिर्गमनसँगै विद्युत् वितरणमा समस्या देखिएको छ ।

विजुलीको माग र आपूर्तिको व्यवस्थापनमा प्राधिकरण फेरि समस्यामा छ । यस विषयलाई प्राधिकरण र सरकारले हलुका रूपमा लिएको देखिन्छ । तसर्थ, आफ्नो सेवाप्रति जिम्मेवार बन्दै विद्युत् अवरुद्ध हुने क्रम तत्काल रोकेर आम मानिसमा लोडसेडिङको सन्त्रास कम गर्ने कि अझ बढाउने, प्राधिकरण र सरकारकै हातमा निर्भर छ ।

प्रकाशित : 7 January, 2021

प्रतिक्रिया दिनुहोस्