केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सत्ता हस्तान्तरणका लागि ट्रम्प तयार, संसद भवनमा भएको आक्रमणको निन्दा

सहयात्रा टिभी

एजेन्सी । अमेरिकी संसदमा हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

अमेरिकी संसदमा हिंसात्मक प्रदर्शन भएको २४ घण्टापछि राष्ट्रपति ट्रम्पले एक भिडियो ट्विट गरेर उक्त घटनाको निन्दा गरेका हुन् ।

उनले भिडियोमार्फत हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गरेका छन्। साथै उनले आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको पनि बताएका छन्।

उनले भिडियोमा भनेका छन्, ‘म संसदमा भएको हिंसाबारे सुरुमा कुरा राख्न चाहन्छु । सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु। मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिए।’

तर कतिपय सञ्चार माध्यमहरुले त्यहाँ सुरक्षा बलको तैनाथी उपराष्ट्रपति माइक पेन्सको निर्देशनमा भएको उल्लेख गरेका छन्। समाचारहरुमा जनाइए अनुसार ट्रम्प त्यसको विरोधमा थिए।

ट्रम्पले आफ्नो भिडियो सन्देशमा अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने बताएका छन्। साथै उनले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको पनि बताएका छन्।

राष्ट्रपति ट्रम्पले भिडियो सन्देशमा आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका छन्।

उनले भनेका छन्, ‘नयाँ प्रशासन जनवरी २० मा आउने छ र सुचारु, सुव्यवस्थित र निर्बाध सत्ताको हस्तान्तरणका लागि म बाचा गर्दछु।’

अमेरिकी संसदमा भएको हमलापछि ट्रम्प ट्विटरमा फर्केका छन्। तर फेसबुक, इन्स्टाग्राम लगायतका उनका अकाउन्ट अझै लक गरिएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत समर्थकहरुलाई अमेरिकी चुनावको नतिजा नमान्न अपील गर्दै आएका थिए।

समर्थकहरुलाई भड्काएका कारण संसदमा हमला भएको आरोप पनि ट्रम्पलाई लागेको छ।

प्रकाशित : 8 January, 2021

प्रतिक्रिया दिनुहोस्