केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं महानगरको आठौ अधिवेशन सुुरु

सहयात्रा टिभी

काठमाडौं । पुस २८, महानगरपालिका नगर सभाको आठौं अधिवेशन सोमबारबाट सुरु भएको छ । अधिवेशनमा तीनवटा विधेयक पेस भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०७७’ पेश भएका हुन् ।

विभागीय प्रमुखहरु हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले विधेयकहरु प्रस्तुत गरेका छन् । यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले बताएको छ । पुस २४ गते बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले आठौं अधिवेशनमा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सुरु भएको बैठकमा चालु आर्थिक वर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ । यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निःशुल्क वितरणका लागि औषधि खरिद, सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, स्वास्थ्य उपकरण खरिद, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन् । त्यस्तै सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रमलगायत छन् ।

सातौं नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये केही कार्यक्रमको शीर्षक मिलाउनु पर्ने, केहीको स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुपर्ने भएकाले बजेट संशोधन प्रस्ताव पनि गरिएको महानगरपालिकाले जनाएको छ । आजको सभामा उपाध्यक्ष एवं उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित नगर सभा सदस्यहरु सहभागी भएका थिए ।

प्रकाशित : 12 January, 2021

प्रतिक्रिया दिनुहोस्