केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवन मेडिकल कलेज मुटुको उपचारमा अग्रणी बन्दै

सहयात्रा टिभी

चितवन । माघ ०२, जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौं नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचार यहाँ हुन थालेपछि चितवन मेडिकल कलेज यो क्षेत्रमा अग्रणी बनेको हो ।

मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौंको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १५३ को, पिटिएमसि १६० को र अस्थायी पेसमेकर १३९ जनाको गरिसकेको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले बताएका हुन् ।

अस्पतालको मुटुरोग विभागका प्रा. डा. सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हालमात्रै शल्यक्रियाको तयारी थालिएको छ । शुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न थालिएको हो । रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ ।

कलेजको मुटु विभागमा रेग्मीसहित प्रा. डा. श्यामराज रेग्मी, सहप्राध्यापक डा. विष्णुमणि धिताल, मेडिकल कलेजले लिङ्कन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भइरहेको फेलोसिप गर्दै गरेका दुई चिकित्सक कार्यरत छन ।

यो समूहलाई प्राविधिक र नर्सिङ समूहले सहयोग पुर्याउँदै आएको छ । कलेजमा मुख्यगरी चितवनसहित नवलपरासी, धादिङ, लमजुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लाबाट बिरामी आउने गरेको उनले जानकारी दिएका छन् । राजधानी काठमाडौँबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

सबै उमेर समूहका बिरामी आउने गरेको उहाँको भनाइ छ । अस्पतालमा इसिजी, इको, एबिपिएम, हल्टरलगायतका उपकरणको सहयोगमा समेत उपचार गर्ने गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले मुटुको उपचारमा गङ्गालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दाबी गरेका छन ।

विगत सात वर्षयता राजधानी काठमाडौंसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उहाँको भनाइ छ । न्यौपानेले भन्नुभयो, “हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौँ ।” यो शल्यक्रिया सेवा शुरु भएसँगै मुटुको भल्ब प्रत्यारोपणसमेत गर्न सकिने छ । न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने रु. एक लाख सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आइरहेको छ । पचहत्तर वर्षमाथिका र १४ वर्षमुनिका बिरामीका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको छ ।

न्यौपानेले मुटुरोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताए । कलेजले यहाँ सेवा शुरु नगर्दा धेरै बिरामीको उपचारको अभावमा मृत्युसमेत हुने गरेको थियो ।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्