केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट बृहस्पति अस्त सुरु, यो वर्षभर धार्मिक कार्य गर्न नहुने

सहयात्रा टिभी

काठमाडौं । माघ ४, आज आइतबारबाट बृहस्पति अस्त सुरु हुँदैछ । बिहान ११ बजेर ५८ मिनेटमा पश्चिममा अस्ताउने बृहस्पति आउने फागुन २ गते दिउँसो १२ बजेर ४२ मिनेटमा पूर्वमा उदाउने ज्योतिषले बताएका छन् ।

बृहस्पति अस्त र शुक्र अस्तको समयमा कुनै पनि देव कर्म गर्दा फल प्राप्त नहुने विश्वास रहेको नेपाल पन्चाङ्ग निर्णायक समितीका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

३० माघ बिहान ७ बजेर ६ मिनेटमा फेरी शुक्र पूर्वमा अस्ताउँदैछ । बृहस्पति फागुन महिनाको २ गते पूर्वमा उदाएपनि शुक्र अस्ताएका कारण विभिन्न काम्यक कर्म गर्न नमिल्ने शास्त्रीय मान्यता रहेको उनले बताए । ‘आउने चैत मसान्तसम्म पनि शुक्र नउदाउने भएकाले यसवर्ष अब कुनै पनि हेराएर, जुराएर र भाकल गरेका कर्म गर्न हुँदैन,’ उनले भने ।

विवाह, व्रतबन्ध, सप्ताह, लाखबत्ति, यज्ञ, रुद्री आदि जुराएर र हेराएर गर्ने खाले देव कार्य गर्नु सुभ मानिँदैन । देवताका गुरु बृहस्पती र दैत्य गुरु शुक्र अस्ताएका वेला कुनै धार्मीक कार्य गर्न नहुने धार्मिक विश्वास छ । फलदाता नै अनुपस्थित भएका बेला यज्ञलगायत कर्म गर्न नहुने समिति अध्यक्ष प्रा.डा. गौतमको भनाइ छ । वर्षको एक समय घुम्दै जाने क्रममा बृहस्पती ग्रह पृथ्वी नजिक पुगेपछि सुर्यको प्रकाशले बृहस्पती ग्रहको प्रकाश ओझेलमा पार्नु बृहस्तीअस्त हो ।

‘सूर्यबाट नजिक बृहस्पती जाने भएकाले बृहस्पती अस्त हुन्छ,’ उनले भने, ‘धार्मिक मान्यताअनुसार बृहस्पती अस्त हुने डेढ दिन अघि र उदाएको डेढ दिनसम्म पनि विभिन्न धार्मीक क्रियाकलाप गर्न हुँदैन ।’ यो अवधीमा नित्य रूपमा गरिने पुजापाठ र नियमित रुद्री भने गरिने पंडितहरूले बताएका छन् । नित्य कर्ममा स्नान , ध्यान, जपतप, पुजापाठ कर्म पर्छन् ।

यसैगरी, अकस्मात हुने नैमित्यिक कर्म, न्वारन, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण कर्म गर्न हुने उनले स्पष्ट पारे । बृहस्पति अस्तक्रममा कहिल्यै नगएको तीर्थ, कहिल्यै नवसेको व्रतको आरम्भ पनि यस समयमा गर्नुहुन्न । ‘कसैको मृत कर्म, न्वारन अथवा कसैको पास्नी भने यो अवधिमा गर्न हुन्छ,’ उनले भने ।

शुक्र–बृहस्पति अस्तका बेला जन्मोत्सव र अन्नप्रासन गर्न हुदैन भन्ने कथन समाजमा मौलाउँदै गएको छ । तर, यो वास्तवमा गलत भएको पण्डित माधवप्रसाद शर्मा बताउँछन् ।

ज्योतिषशास्त्रअनुसार हरेक वर्ष शुक्रअस्त र बृहस्पती अस्त हुने गर्दछ । वर्षको एक समय घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सुर्यको प्रकाशले शुक्र ग्रहको प्रकासलाई ओझेलमा पार्नु शुक्रअस्त हो ।

सूर्य, शुक्र ग्रहसँग नजिक छ । धार्मिक मान्यता अनुसार शुक्र र बृहस्पतीलाई गुरुका रुपमा लिने गरिन्छ । देवताका गुरु बृहस्पती हुन् भने दानवका गुरु शुक्राचार्य हुन् । यसरी गुरुको उपस्थिती बिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ । शुक्र गुरु हुन् । सरी गुरु अस्ताएको अथवा गुरुलाई साक्षी नबनाई गरिएको कार्यको फल मिल्दैन ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्