केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महेन्द्रनगर विमानस्थल पुनः सञ्चालन आउने तयारी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०४, गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट र दोधराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरी आदनप्रदान गरेका छन् । सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको रोहवरमा विमानस्थल विस्तार तथा विकाससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

मन्त्री ढकालले भने, “विगतमा पनि पवित्र उद्देश्यले लागेका अभियानमा कहिले मुआब्जा बढाउने तथा विभिन्न बहानामा बखेडा झिकेर आयोजनालाई नै प्रभावित पार्ने प्रवृत्ति रहेको भन्दै विमानस्थल विकास र विस्तारमा गलत दृष्टिकोण नपरोस् भन्नेतर्फ सजक रहनुस् ।” क्यानका महानिर्देशक पोखरेलले अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरुप पूर्वको भद्रपुरदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको विमानस्थलको विस्तार तथा विकासका लागि गुरुयोजना तयार भइसकेको र महेन्द्रनगर विमानस्थल सोही योजना अन्तर्गत विकास गरिने जानकारी दिए । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल प्रदेशको समृद्धिले नै मुलुकको आर्थिक समृद्धिको ढोका खोल्ने भएकाले महेन्द्रनगर विमानस्थल रणनीतिक महत्वको आयोजना भएको उल्लेख गरे । समझदारी पत्रअनुसार प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधरा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्नेछन् भने सङ्घीय सरकारको तर्फबाट क्यानले ५० प्रतिशत लगानी गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

 

प्रकाशित : 16 February, 2021

प्रतिक्रिया दिनुहोस्