केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नासाद्धारा परमाणु रकेट बनाउने तयारी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, अमेरिकी अन्तरिक्ष संस्था नासा अब नयाँ पुस्ताको रकेट बनाउने तयारीमा लागेको छ। हालको प्रविधिमा क्रान्तिकारी सुधार गरेर परमाणु शक्तिबाट सञ्चालित हुने रकेट बनाउने क्रम अगाडि बढेको हो। अहिलेसम्मको प्रविधिमा सबै देशले विभिन्न रासायनिक इन्धन प्रयुक्त हुने रकेट प्रयोगमा ल्याइरहेका छन्। जसका कारण इन्धन भण्डारणको चर्को समस्याले गर्दा रकेटको अधिकांश भार बोक्ने क्षमता इन्धन बोक्नेमा नै खर्च भइरहेको पाईएको छ।

पृथ्वीको गुरुत्वाकर्षणलाई निरस्त गरी अन्तरिक्ष यात्रा गर्न झण्डै ११ दशमलब २ किमी प्रति सेकेण्डको गति आवश्यक हुन्छ। अहिलेसम्मका आधुनिक रकेटको गति १६-१८ किमि प्रति सेकेण्डमै सीमित रहेको छ। अन्तरिक्ष यात्रालाई सजिलो र द्रुत गतिमा लैजान नासाले परमाणु शक्तिबाट संचालित हुने रकेटको अवधारणा ल्याएको छ।

नासाको स्पेस टेक्नोलोजी मिशन डायरेक्ट्रेटका प्रमुख इन्जिनियर जेफ शेही भन्छन् – अहिलेका केमिकल इन्जिन जडान भएका रकेटबाट अन्तरिक्षको छेउछाउमा त पुग्न सकिन्छ तर सुदूर अन्तरिक्षको यात्रा गर्न यी रकेटको गति पर्याप्त छैन। अहिलेका रकेटको गतिले मंगल ग्रह पुग्न नै ९ महिनाको समय लाग्छ। यो पटक्कै व्यवहारिक छैन। जस्तो कि अहिलेका प्रविधिको रकेटबाट मंगल ग्रहको दुईतर्फी यात्रा गर्ने हो भने मंगल ग्रह पुगी पृथ्वीमा फर्किन ३ वर्षको समय लाग्छ। यति लामो समयसम्म यात्रा गर्न मानवलाई चाहिने आवश्यक कुराको जोहो रकेटमा गर्न सम्भव छैन। सिएटलस्थित कम्पनी अल्ट्रा सेफ न्यूक्लियर टेक्नोलोजीज (USNC-Tech) ले नासालाई परमाणु थर्मल प्रोपल्शन (NTP ) इन्जिन बनाउने प्रस्ताव गरेको छ। यस प्रविधिले बनेका रकेट अहिलेको रकेटको तुलनामा कैयन गुणा शक्तिशाली हुन्छन् ।

USNC-Tech का इन्जिनियरिङ निदेशक माइकल ईड्सका अनुसार परमाणु ऊर्जाले संचालित हुने रकेट अहिलेका रासायनिक इन्जिनका रकेटको तुलनामा कैयन गुणा शक्तिशाली, दक्ष र सुरक्षित हुने छन् । तर रासायनिक इन्जिनको तुलनामा परमाणु इन्जिनको निर्माण गर्नु अत्यन्त जटिल प्रक्रिया हुनेछ। थर्मल इन्जिनभित्र यूरेनियम दहन हुँदा २५०० डिग्री सेन्टिग्रेडको तापमान उत्पन्न हुन सक्छ।

 

 

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्