केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मङ्गल अभियानमा नासाको नयाँ इतिहास

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०७, अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान सफलतासाथ सम्पन्न भएको छ । शुक्रवार राति यस अभियानको ‘पर्सिवरेन्स मार्स रोवर’ (Perseverance Mars Rover) ले मङ्गलमा ल्याण्ड गरेको थियो । रोवरले ल्याण्ड गरेपछि पठाएको सन्देश आई पुग्नसाथ परियोजनामा संलग्न व्यक्तिले ताली बजाएर खुशी प्रकट गरेका थिए भने रोवरको यस ल्यान्डिङले नासाको दस वर्षको मेहनत सफल भएको बताईएको छ । रोवरले नेपाली समय अनुसार शुक्रवार राति २ बजेर ४० मिनेटमा मङ्गल सतहमा अवतरण गरेको हो ।

नासाको यो अभियान निकै चुनौतीपूर्ण थियो । पहिलो, नासाले यस अभियानको रोवर अवतरणका लागि विकट स्थान जेजेरो क्रेटरलाई अवततरणस्थल बनाएको थियो र दोस्रो, यसपटकको रोवरको भार एक टनभन्दा बढी रहेको थियो । नासालाई थाहा थियो अवतरणका क्रममा अन्तिमका सात मिनेट अत्यन्त महत्त्वपूर्ण हुनेछ । नासाले यी सात मिनेटका लागि अनेको पटक रिहर्सल गरेको थियो । जति रिहर्सल गरे पनि, जति उन्नत प्रविधि भए पनि यदी अन्तिम सात मिनेटमा अवतरण गर्ने क्रममा कुनै व्यवधान आएको भए नासासँग केही गर्न सक्ने कुनै उपाय थिएन । नासाले उपाय स्वरुप पठाएका कमाण्ड रोवरसम्म पुग्नु अगावै रोवर मङ्गलमा बजारिएर नष्ट हुन पुग्थ्यो । कारण पृथ्वीबाट पठाएको कमाण्ड पुग्न ११ मिनेटको समय लाग्थ्यो, त्योभन्दा धेरै अगाडि रोवर मङ्गलमा बजारिन पुग्थ्यो ।

नासाको यस मङ्गल अभियानको उद्देश्य मङ्गलमा जीवनको सम्भावना खोज्नु रहेको छ । पर्सिवरेन्स मार्स रोवरले मङ्गल ग्रहको अप्ठेरो स्थान जेजेरो क्रेटर (Jezero Crater) मा अवतरण गरेको छ । वैज्ञानिकहरुका अनुसार मङ्गलको यस ठाउँमा अर्बौं वर्ष पहिला एउटा नदी बग्दथ्यो । मङ्गल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुकेर डेल्टामा परिणत भयो । वैज्ञानिकहरुलाई विश्वास छ, यस डेल्टाका वरिपरी जीवनका जीवाश्म भेटिन सकिन्छ ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्