केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य: पूर्व सञ्चार मन्त्री बस्नेत

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०९, पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनु भएको छ । शनिवार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राख्नुभयो ।

शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने भन्दै उहाँले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताउनुभयो । समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उहाँले अरुलाई सेवा गरे बापत् प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राख्नुभयो । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताउनुभयो । नगरपालिकाका शैक्षिक संस्थाहरूलाई आगामी दिनमा अझ सशक्त बनाइने उहाँले बताउनुभयो । चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदीले संस्कार सहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्व अध्यक्ष गोपाल बराल लगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गर्नुभयो । सोही अवसरमा पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले चामुण्डाका पूर्व विद्यार्थी समेत रहनु भएका समता स्कुलका संचालक उत्तम सञ्जेललाई सम्मान गर्नुभयो । विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहनु भएका कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि उक्त अवसरमा सम्मान गरियो ।

यसैबीच मञ्चको शनिवारै सम्पन्न पहिलो साधारण सभाले कुमार राज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्धयमा क्रमशः रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहनु भएको छ । सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहनु भएको छ । सदस्यहरूमा डाक्टर सोमबहादुर धिमाल, डाक्टर राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन हुनुभएको छ । २०२४ सालमा स्थापित चामुण्डा मावि मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयहरू मध्ये एक मानिन्छ ।
समाचार: निर्मल अर्याल–पत्रकार

प्रकाशित : 21 February, 2021

प्रतिक्रिया दिनुहोस्