केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केपी शर्मा ओली र माधवकुमार नेपालबीच धुम्बाराहीमा भेट हुँदै

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच स्रोतका अनुसार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुने भएको छ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो। सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र न‍ेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट र संवाद भएको छैन। प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेता नेपालसहित सो समूहका मुख्य नेताहरूको जिम्मेवारी खोसेर पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरेपछि एमालेभित्रको विवाद तीव्र रूपले बढेको छ।

प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयको प्रतिक्रियामा नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको छ भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ। आइतबार साँझमात्रै नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले वक्तव्य जारी गर्दै ओलीको कदमको विरोधमात्र गरेका छैनन् एमाले पुनर्गठन गर्ने जिम्मेवारीमा संलग्न हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै नेपाल पक्षका नेताहरूलाई पनि सो बैठकमा आउन भने पनि २८ उनले गरेको निर्णय फिर्ता नलिउन्जेल केन्द्रीय समितिको बैठक र चियापानमा जाने मनस्थितिमा आफूहरू नरहेको नेपालनिकट एक केन्द्रीय सदस्यले बताए।

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्