केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्राफिक व्यवस्थापन गर्न ‘स्वयंसेवक परिचालन’लाई निरन्तरता

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एवं व्यवस्थित बनाउन ट्राफिक प्रहरी महाशाखाले ‘स्वयंसेवक परिचालन’लाई निरन्तरता दिँदै आएको छ ।

उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत असर पुग्ने हुँदा त्यसलाई न्युनीकरण गर्न ट्राफिक स्वयंसेवक परिचालनलाई महाशाखाले निरन्तरता दिँदै आएको हो । महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरी ९५ जना विद्यार्थीहरुलाई स्वयंसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक, आकासे पुल र जेब्राक्रसिङमा १० दिनसम्म परिचालन गरिएको जनाएको छ ।

उपत्यकाको बढी सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानहरुमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिँदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । ट्राफिक स्वयंसेवकले सुरक्षित बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

यस अघि महाशाखाले विभिन्न सँघसंस्था, स्कुल कलेजका विद्यार्थीहरुलाई ट्राफिक स्वयं सेवक सम्बन्धी प्रशिक्षण दिई विभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यस कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ । हाल विभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन् भने ५७ जनाले दैनिक काम गर्दै आएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्