केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालीगण्डकी नदी थुनेर जलविद्युत् आयोजना बनाउन स्थानीय तहको पहलमा अध्ययन थालनी

सहयात्रा टिभी

काठमाडौं । चैत्र १७, पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ। बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको बताईएको छ।

विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको विद्युत् विकास विभागका इञ्जीनियर रवि नेपालले जानकारी दिए। उनका अनुसार अहिले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि क्षेत्र निर्धारणको काम भइरहेको छ ।

आठ सय ४४ मेगावट विद्युत् उत्पादन गर्ने गरी निर्माण गर्ने भनिएको प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालमै सबैभन्दा ठूलो जलविद्युत् आयोजना रहेको छ। अहिले सात पालिकामा प्रभावित हुनसक्ने वडा र सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्राणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्राणाली र आर्थिक प्रणालीका लागि सुझाव सङ्कलनसमेत भइरहेको छ।

यसका लागि ती परामर्शदाताले सार्वजनिक सूचना निकाल्ने, सार्वजनिक सुनुवाइ गर्नेलगायतका काम गरिरहेको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि पहलकदमी गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए। उनले यसलाई जलविद्युत्सँगै पर्यटनका हिसाबले समेत फड्को मार्नका लागि जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्ताव दुई वर्षअघि मन्त्रालयमा पुर्याएकामा अहिले काम शुरु भएको बताए। “शुरुमा निर्वाचित भएर आएपछि नगरको समृद्धिका लागि के गर्न सकिन्छ भनेर दीर्घकालीन र बहुउद्देश्यीय परियोजनाको खोजी गर्यौँ, अध्ययनका क्रममा जलविद्युत् नै देखियो”, नगरप्रमुख शर्माले भने, “प्रारम्भिक अध्ययनका क्रममा हाम्रो मात्रै नगरपालिका नभएर जलाशययुक्त जलविद्युत् निर्माण गर्दा बागलुङ नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिकासहित पर्वतको जलजला, विहादी र पैयु गाउँपालिकासमेत समेटिएको छ, यसले गण्डकी प्रदेशको मात्र नभएर नेपालकै समृद्धिको आधार बन्नेछ ।”

आयोजना अबको सातदेखि १० वर्षमा सम्पन्न गर्ने गरी अध्ययन भइरहेको छ । नेपालकै अन्य जलाशययुक्त जलविद्युत् आयोजनाभन्दा ठूलो, सस्तो र कम क्षति पुर्याउने उक्त आयोजना देशकै नमूना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिइएको प्रभावित नगरपालिका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्