केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ पार्टी खोल्ने माधव नेपालको उदघोष

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, विपक्षी गठबन्धनलाई साथ दिने निर्णयमा पुगेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने बताएका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्य गरेका नेपालसहितका ११ जनालाई स्पष्टीकरण सोधिएलगत्तै नेता नेपालको यस्तो भनाइ सार्वजनिक भएको हो ।

एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै नेता नेपालले अब नयाँ पार्टी खोल्न लागेको खुलासा गरेका हुन् । एमाले फेरि फुटको दिशामा लागेको हो ? भन्ने प्रश्नमा नेता नेपालले भनेका छन्, ‘केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।’

साथै, नेता नेपालले पार्टी एकताका लागि गठन भएको कार्यदलको औचित्य पार्टी अध्यक्ष ओलीले नै सिध्याइ दिएको आरोप लगाएका छन् । कार्यदल बनेपछि सल्लाह गरेर अघि बढ्नु पर्ने अवस्थामा ओलीले एक्लौटी गरेको उनको भनाइ छ । आफूहरू प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन फेरि संघर्षमा उत्रने बताउँदै उनले भने, ‘त्यसैबाट कम्युनिस्ट पार्टी पनि जोगिने हो ।’

नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकले ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानूनी दुवै लडाइँमा जाने निर्णय गरेको थियो ।

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्