केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकीका मुख्मन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

सहयात्रा टिभी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आगामी एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि पोखरेलले तत्कालै विश्वासको मत लिएर आफू सुरक्षित हुन चाहेका छन् ।

बिहीबार मनाङको बाढी प्रभावित क्षेत्र पुगेका मुख्यमन्त्री पोखरेल आज बिहान नेपाली सेनाको हेलिकोप्टर चढेर पोखरा फर्किएका छन् । विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

पोखरेल संविधानको १६८ (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

उनलाई मुख्यमन्त्री बनाउन स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) निर्णायक बनेका थिए ।

राष्ट्रिय जनमोर्चाका एक सदस्य रिक्त भएसँगै ५९ सदस्य रहेको गण्डकी प्रदेशसभामा पोखरेलले विश्वास लिन ३० मत आवश्यक पर्दछ । उनको गठबन्धनमा कांग्रेस १५, माओवादी केन्द्र ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चा २, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २७ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये एक जना सांसद माधव नेपाल पक्षका छन् ।

पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको साथ छाडेर मनाङेले गठबन्धनलाई साथ दिएपछि पोखरेल मुख्यमन्त्री बनेका हुन् । उनी मुख्यमन्त्री नियुक्त भएसँगै मनाङेलाईसमेत मन्त्री बनाइसकेका छन् ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका उनलाई बजेट ल्याउन निकै हतार थियो । उनले मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट आइतबार नीति तथा कार्यक्रम र सोमवार आर्थिक वर्ष ७८/७९ को बजेट ल्याएका थिए ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै पोखरेलले गठबन्धनका ४ जनालाई समेटेर मन्त्रिपरिषद् गठन गरेका छन् । गठबन्धनका दललाई पूर्वसहमतिअनुसार नै मन्त्रालय भागबण्डा गर्नसमेत उनलाई चुनौती देखिएको छ ।

मन्त्रालय भागबण्डा मिलाउन नसक्दा पोखरेलले मन्त्रिपरिषद्का चार सदस्यलाई समेत मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् । उनले कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य, र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् । चारैजना अहिलेसम्म विना विभागीय छन् ।

जसपाका आचार्यलाई मात्रै मन्त्री बनाइएपछि जसपाकी अर्की सांसद धनमाया पोखरेल (लामा) असन्तुष्ट बनेकी छन् । पार्टीलाई दुई मन्त्रालय दिने यसअघि नै सहमति भएकाले पूर्व सहमतिअनुसार नभएर आफ्नो सहयोग नरहने बताइसकेकी छन् ।

प्रकाशित : 18 June, 2021

प्रतिक्रिया दिनुहोस्