केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाढीपहिरो वितन्डाः जनजीवन प्रभावित

सहयात्रा टिभी

काठमाडौं । असार ६, कोरोनाको सन्त्रास खेप्नुपरेको पीडा एकातर्फ छ भने अहिले बदलिँदो हावापानी तथा मौसम र देशभर भइरहेको अविरल वर्षाको कारणले देशका विभिन्न ठाउँमा बाढीपहिरो गइरहेका कारण जनताले अत्यधिक पीडा र क्षति दुवै सहनुपरिराखेको छ ।

सांकेतिक तस्बीर

प्रत्येक वर्षायामको समयमा पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानले गर्दा धनजनको क्षति भई हजारौँ नेपालीले दुःखद स्थिति बेहोर्नुपरेको डरलाग्दो अवस्था छ ।

तीन–चार दिनयता देशभर परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले विभिन्न जिल्लामा वितन्डा मच्चाएको छ ।

त्यस्तैगरी बाढीपहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी, रसुवामा भौतिक संरचनाहरूमा धेरै क्षति भएको छ ।

लगातार भइराखेको वर्षाका कारण देशका विभिन्न नदीहरू जस्तै बुटवलको तिनाउ र नारायणी नदीमा आएको बढ्दो पानीको बहावको कारण त्यस क्षेत्रको वरपरको क्षेत्र प्रभावित भएको छ । त्यस्तैगरी मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची बजार पूरै डुबानमा आएको र धनजनको क्षति भएको विभिन्न सामाजिक सञ्जालहरूमार्फत देख्न सकिन्छ ।

पहिरोका कारण घरहरू पुरिएर, रूखहरूले थिचेर, पहाड तथा ढिस्कोले पुरिएर र भागाभाग गर्ने क्रममा समेत कैयौं मानिस तथा गाईवस्तुहरूसमेत पुरिएर मरेको समाचारहरू पनि सुन्नमा आइराखेको छ ।

यो वर्षायाममा सम्भावित बाढीपहिरो र डुबानबाट पीडित नागरिकलाई राख्न अहिले नै छुट्टै सेल्टरको स्थापना गरिनुपर्छ । किनभने देशभरि सरकारी तथा गैरसरकारी संघसंस्थाका भौतिक संरचना कोभिड–१९ का लागि क्वारेन्टाइनमा प्रयोग गरिएकाले प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई राख्न अस्थायी सेल्टरको छुट्टै आवश्यकता पर्छ ।

कोरोनाले थला पारेको हाम्रो देशको अर्थतन्त्र र जनता, त्यसमाथि यस्तो विपत्तिका कारण जनताले अत्यधिक सास्ती खेप्नुपरिराखेको छ । बाढीपहिरो नगएका ठाउँहरूमा पनि वर्षाका कारण दिनहुँ ज्याला–मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्ने मानिसहरूलाई काम गर्न असहज भएको छ ।

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्