केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकाविरुद्ध नेपाल पाँच विकेटले विजयी

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, युवा ब्याटसम्यान कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धसतकसँगै आइसीसी विश्वकप क्रिकेट लिग- टू शृंखला अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा नेपालले सानदार विजयी सुरुवात गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार नेपालले बलियो अमेरिकालाई युवा ब्याटसम्यान कुशल र रोहितको अर्धसतकसँगै ५ विकेटले पराजित गरेको हो ।

टस हारेर २३१ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङमा ६ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन जोडे । आफ्नो करियरकै उत्कृष्ट ब्याटिङ गरेका कुशलले ३ छक्का र ३ चौका प्रहार गरे ।

रोहितले अर्धशतकसहित ६२ रन बनाए । ८७ बल खेलेका रोहितले ३ छक्का र २ चौका प्रहार गरे । नेपालका लागि विकेट किपर तथा ब्याटसम्यान विनोद भण्डारीले ३७, आसिफ शेषले २३ र ज्ञानेन्द्र मल्लले १७ रन बनाए । नेपालका कुशल मल्ल र कुरण केसी १ रनमा आउट भएका थिए ।

अमेरिकाका निसर्ग पटेल र नोस्थुश केन्जिगेले समान २/२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले मोनाङ्क पटेलको शतकमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो ।

अमेरिकाका ब्याटसम्यान तथा विकेट किपर मोनाङ्कले सर्वाधिक १०० रन बनाए । मोनाङ्कले ११४ बल खेल्दै १ छक्का र ९ चौका प्रहार गरेका थिए । मोनाङ्कलाई नेपालका विक्रम शोबले १०० रनमा कुशलको हातबाट क्याच आउट गराएका थिए ।

निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टेभन टेलोर १४, नोस्थुस केन्जीगेले १३ तथा जस्कारना माल्होत्राले ११ रन बनाए ।

टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोवले सर्वाधिक २–२ विकेट लिए । १० ओभर बलिङ गरेका भारीले ३१ रन खर्चिएर २ विकेट लिए । यस्तै १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै ३५ रन खर्चिए ।

अर्का तीव्र गतिका बलर विक्रमले ६ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए ।

१६ रन बनाएका अमेरिकाका नोस्थुस केन्जिगेलाई कुशल मल्ल र सन्दीप लामिछानेले रन आउट गराएका थिए । सन्दीपले करिमा गोरेलाई रन १६ रनमा रन आउट गराएका थिए ।

नेपालका करण केसी महँगो सावित भए । ५ ओभर बलिङ गरेका करणले बिना विकेट ४१ रन खर्चिएका थिए । सोमपाल कामीसमेत विकेटविहीन रहे । ८ ओभर बलिङ गरेका सोमपालले ३५ रन खर्चिएका थिए ।

यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण शृंखला खेलेको थियो । नेपालले दुबै शृंखला आफ्नो पक्षमा पारेको थियो ।

लिग-२ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सहभागी हुने छैनन् । खुट्टाको चोटका कारण उनले शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । जितसँगै नेपालले ५ खेलबाट ३ जित र २ हार सहित ६ अंक बनाएको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल मंगलबार हुनेछ ।

लिग-२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्