केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद बैठक आज पनि: बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारको तयारी

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, प्रतिनिधिसभाको जारी नवौँ अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ भने त्यसलाई जसरी पनि रोक्ने रणनीतिमा नेकपा एमाले छ ।

आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जर्नादन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’ भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । तर एमालेले हरेक बैठकमा बेल घेर्दै आएको छ । गत आइतबारको संसद बैठक पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको थिएन । सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो ।

एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री शर्माले बजेट ल्याउनु भएको थियो । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले काँटछाँट गरिदिएको छ । तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट साउन ३ गते संसदमा पेश भएको थियो । यही भदौ २५ गते प्रतिस्थापन बजेट ल्याइएको हो ।

संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, आफूले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद अधिवेशन शुरु भएयतादेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

संसदको गतिरोध अन्त्यका लागि हिजो सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्तासीन दलका नेताहरू सहभागी भए पनि प्रमुख प्रतिपक्षी एमालेका नेताहरू अनुपस्थित रहेका थिए । जसकारण बैठकले कुनै ठोस निर्णय गर्न सकेन भने दलका नेताहरुले एमालेलाई सहमतिमा लिएर अगाडि बढ्न सभामुखलाई सुझाव दिएका छन् ।

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्