केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गतिरोध हटाउन सभामुखको पहल, तीन दल छलफलमा

सहयात्रा टिभी

बैशाख २२, २०७४ । संविधान संशोधनपछि प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग प्रस्तावलाई नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएपछि संसद्को गतिरोध हटन सकेको छैन । सुरुमा संविधान संशोधन बिधेयकलाई राष्ट्रघाती भन्दै आएको एमालेले पछिल्लो पटक संविधान संशोधनकै लागि संशोधन हाली आफनो सहभागिता देखाएको छ । संशोधनको लफडा अन्त्य भएको ठानिएकाबेला पुनः प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग प्रस्तावले एमाले बिच्किएको छ । महाअभियोग प्रस्ताव फिर्ता नभए संसद् चल्न नदिने एमालेको अडानका कारण व्यवस्थापिका संसद्को बैठक हिजो सूचना टाँसेर आजसम्मका लागि स्थगित गरियो । यो गतिरोध हटाउन सभामुख ओनसरी घर्तीले पहल गर्नुभएको छ । सभामुखकै पहलमा आज बिहान प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । बैठकमा संविधानको दोश्रो संशोधन र प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग प्रस्ताव लगायतका विषयमा छलफल भएको हो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने महाअभियोग प्रस्ताव कुनै पनि अवस्थामा फिर्ता लिन नसकिने बताउँदै आएका छन् । महाअभियोग प्रस्ताव फिर्ता नलिने भए तत्काल संसद बैठकमा भोटिङमा लैजानुपर्ने एमालेको माग छ ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्