केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दशैँ समिक्षा वर्ष ०७५ः अनि तिहारको स्वागत

सहयात्रा टिभी

सहायात्राटीभी :  हिन्दु धर्मावलम्बिहरुको महान पर्व बडादशैँ भर्खरै सकिएको छ भने हिन्दुहरुको अर्को ठूलो महान चाड तिहारको चहलपहल गाउँशहरतिर पसिसकेको देख्न सकिन्छ । शरद ऋतुको यो रमाइलो मौसममा दशैँ र तिहार जस्ता चाडपर्व र गाउँघर फर्कने परदेशिहरुको लहरले अझ उल्लास र उमङ्ग निम्त्याउने गर्छ । टाढा रहेका आफन्तजनसँगको भेटघाट, नयाँ कपडा, मिठा परिकार, पिङ, चङ्गा लगायतबाट मनमा हर्ष र उमङ्ग नछाउने कमै भेटिन्छन् ।

तर यहि चाडपर्व, यहि दशैँ कसैका लागी दशैँ अनि कसैका लागी दशा बनेको पनि देखिन्छ । दशैँकै बेला बढ्ने महङ्गीे सामान्य परिवारका लागी दशा बनेर उभिदिएको हुन्छ दशैँ । “दशैँ आयो ढोल बजाई दशैँ गयो ऋण लगाई” भन्ने उखान जस्तै गरिब परिवारमा छोराछोरीको इच्छा पुरा गर्न भए पनि थोरै खर्च गर्दा गर्दै पनि ऋण लाग्ने गर्छ ।सबैका घरमा खासी ढाल्दा निन्याउरो मुख लगाउने छोराछोरीलाई खुसी पार्न भए पनि दुईचार केजी मासु त किन्नै प¥यो, सबैका छोराछोरी नयाँ कपडा लगाएर रमाउँदै पिङ खेलीरहँदा रुन्चे मुख लगाएर हेरिरहने आफ्ना सन्तानको खुसीको लागी भएपनि एक जोर कपडा त किनि दिनै पर्योे । टाढाबाट टिका थाप्न लाएका आफन्तका हात खालि पठाउन पनि मनले मान्दैन ।

हुने खानेहरु र हुँदा खानेहरुको विचको खाडललाई यो चाडपर्वले अझ बढि फराकिलो बनाउने गरेको देखिन्छ । दशैँ तिहार जस्ता चाडपर्वले गरिब परिवारमा पारिवारीक समस्या त निम्त्याउँछ नै यसमा उ गरिब हुनु मात्र दोष नभएर उसको गरिबिको फाइदा उठाउनेहरु पनि उत्तिकै दोषी देखिन्छन् ।

यहि चाडपर्वको मौका छोपी व्यापारीहरुले सामाग्रीको मुल्य बढाइदिन्छन्, गाडीको भाँडामा अनियमिता गरिदिन्छन्, कालोबजारी गर्नेहरु पनि यहि चाडको मौका छोपेर चलमलाउछन् अनि गरिबको बाध्यतामाथि राजाइँ गर्छन् । चाडपर्वको अवसरमा छोइनसक्नुको मुल्य लगाइएका कपडा र खाद्यान्न सामाग्रीहरुले नै गरिब नेपालीहरु तातो भुङ्ग्रोमा नराम्रोसँग पिल्सिएका छन् ।

शहरबाट गाउँ फर्कनेहरुले दोब्बर भाँडा तिर्न बाध्य भएका उदाहरणहरु हाम्रै आँखा अघि झलझलि छन् । नतिरौँ घर जान गाडि नै नपाइने समस्या, तिरौँ दोब्बर बढि । गाडि नपाएर ट्याक्टरको डालिमा साना साना बच्चा लिएर घर फर्कने परिवार पनि प्रशस्तै भेटिन्छन् यो दशैँ र तिहारको समयमा ।

यस वर्षको दशैँ गरिब परिवारको लागी मात्र बोझ नभएर सम्पूर्ण नेपालीहरुकै निम्ति केहि खल्लो पनि भएको देखियो । यस वर्षको तिजमा देशका विभिन्न ठाउँहरुमा महिलापुरुषहरुले कालो लुगा लगाएर विरोधपूर्ण तिज मनाएका थिए भने दशैँमा समेत युवाहरुले कालो टिका लगाएर दशैँ मनाइएको पाइयो । नेपलभर रातो टिका र जमराले दशै मनाइ रहदा काठमाडौंका केही युवाले कालो टिका लगाएर दशै मनाएका हुन् । गत साउन १० गते बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले अझै न्याय नपाएको र मुलुकमा बलात्कारका घटनमा वृद्धि हुदा पनि सरकारले महिला तथा वालिकालाई सुरक्षा दिन नसकेको भन्दै कालो टिका र जमरा लगाएर दशै मनाएका हुन्।

उनीहरुले बलात्कारमा संलग्नलाई फाँसीको माग गरेका छन् । कालो पहिरनमा सजिएका उनीहरुले घटनाबाट पिडित परिवारसँग टिका लगाएका थिए ।

यस्ता चाडपर्वले कसैको घरमा हर्ष ल्याउँछ भने कसैको घरमा निरासा । चाडपर्व खर्च गरेर टारे पनि ऋणको बोझले भत्भत् मन पोल्नेहरुको समस्या गम्भिर समस्या बन्दै गएको छ । यसमा बढ्दै गएको देखावटीपना, यसैलाई अवसर बनाएर लापरवाही गर्ने व्यापारी तथा यातायात व्यवसायीहरु अनि सरकारको कमजोर अनुगमन जिम्मेवार देखिन्छन् । फलस्वरुप हरेक वर्ष आउने दशै सामान्य आयश्रोत भएका परिवारका लागि दशै होईन दशा बनेर आईरहनेछ बर्षैपिच्छे ।

प्रकाशित : 25 October, 2018

प्रतिक्रिया दिनुहोस्