केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भिभिआइपीको सवारी जनतालाई सास्ती मात्र, कहिलेसम्म भोग्ने सवारीको समस्या??

सहयात्रा टिभी

सहायात्राटीभी : काठमाण्डौं उपत्यकाका सडकहरु यसै पनि व्यस्त सडक, जहाँ जामको सास्ती सर्वसाधारणले दैनिक खेपीरहनु पर्ने समस्या हो । जाम होला भन्ने चिन्ताले नै घर वा कोठाबाट निस्कँदा नै वास्तविक निस्कनु पर्ने समयभन्दा केहि समय अघि नै निस्कने बानि पनि अधिकांशमा परि सकेको छ ।

त्यसै पनि प्रत्येक दिन जामको समस्या खेपीरहेका जनताहरु भीभीआईपीहरुको सवारीको समयमा भने अति नै समस्यामा पर्ने गरेका छन् । भिभिआइपीहरु राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री राजकीय, औपचारिक र अनौपचारिक भ्रमणमा निस्कँदा सडक खाली गरिँदा सडक जामका कारण अस्तव्यस्त बन्नुको साथै सर्वसाधारणहरुको जनजीवनमा समेत प्रभाव पर्न जान्छ । घण्टौसम्म जाममा बस्नुपर्दा समयमा गन्तव्यमा पुग्न नसकिने र काम नबन्ने हुँदा सर्वसाधारणहरु भिभिआइपीको सवारीप्रति आक्रोशित समेत हुने गरेको देखिन्छ ।

केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारी विदेश भ्रमणबाट फर्कदाँ सडक मात्र नभएर हवाइमार्ग समेत लामो समय प्रभावित बन्न पुगेको थियो । घण्टौँसम्म आकाशका विमानलाई आकाशमा नै र जमिनका विमानलाई जमिनमै होल्ड गरिँदा त्रिभुवन विमानस्थलबाट हुने उडान रातिसम्म नै प्रभावित बन्न पुगेको थियो ।

हुन त राष्ट्रपति लगायत अन्य भिभिआइपीहरुको सवारीका क्रममा सुरक्षाको निम्ति सडक खालि गराउने परम्परा अन्य मुलुकमा पनि चलिआएको छ । तर हामीकहाँ भने वैकल्पिक अन्य बाटाहरु नहुँदा सवारीको क्रममा घण्टौँसम्म पनि सडकमै रोकिएर बस्नु पर्ने बाध्यता रहि आएको छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा आज पनि भिआइपीहरुको सवारीका क्रममा आकाशमै जहाज रोक्ने, सडकमै घण्टौसम्म सवारीसाधन रोकेर जनतालाई सास्ती दिने कामबाट जनताले फेरि पनि भिआइपीहरुबाट तानासाहि रवाफ देखाएको महशुस गर्न थालेका छन् ।

जनताको अधिकार, सुरक्षा, सेवा र सुविधाका निम्ति जनताले नै चुनेर भिआइपी बनाएपछि एउटा सवारीका कारण हजारौँ जनताको एक दिनको समय बर्बाद हुन्छ भने त्यो कुनै तानाशाह भन्दा कम हैन् ।  सुरक्षा, मान, प्रतिष्ठा भन्ने कुरा जनतालाई दुख दिएर हैन जनताको मन जितेर प्राप्त हुन्छ भन्ने कुरा ठाउँमा पुगेपछि जो कोहिले बिर्सन्छन् भन्ने कुरालाई भिआइपीहरुको सवारीले प्रमाणाीत गर्दै आइरहेको छ ।

कुनै पनि भिआइपीहरु जनताहरुसँगै सडकको एक छेउबाट सवारी भए भने कति प्रतिष्ठित र सम्मानित काम हुने थियो । जनताको यात्रा नरोकिकन जनतासँगै एउटै सडकमा यात्रा गर्ने भिआइपी वास्तवमै जनताबाट पुजिने थिए, सम्मानित हुने थिए तर यति गतिलो बुद्धि भने अहिलेसम्म कसैको आएको देखिएन् ।

सवारीको नामबाट घण्टौँसम्म सडक सडकमै, आकाश आकाशमै रोकिनु निकै आपत्तिजनक कुरा हो र यस किसिमको कामबाट कुनै पनि भिभिआइपीले आफुलाई प्रतिष्ठित भएको महशुस गर्छ भने त्यो भ्रम आजैबाट त्यागी दिए हुन्छ । सवारीको कारण प्रत्येक समय प्रभावित भएका जनताहरुको मनमा भिभिआइपीप्रति सम्मान र प्रतिष्ठा होइन क्रमश घृणा बढ्दै गइरहेको छ ।

हो भिभिआइपीको लागी सुरक्षाको प्रत्याभुति हुनु जरुरी छ तर सुरक्षा त्यस किसिमबाट गरियोस जसले जनतालाई कुनै पनि किसिमको नकारात्मक प्रभाव नपारोस । सवारीका समयमा प्रभावित प्रत्यक मानिसहरुले ती भिभिआपीहरुलाई अनेक गालीगलौज गरिरहेका हुन्छन, सरापि रहेका हुन्छन । यसबाट उनीहरुको प्रतिष्ठा बढ्नुको सट्टा दिनप्रतिदिन जनताको मनमा घृणाको भावना जागृत भइरहेको हुन्छ ।

यस विषयमा जनताको दैनिक जनजीवनमा नै प्रभावित पार्नेगरि सवारी गर्ने भिभिआइपी लगायत मर्यादापालकहरुले पनि समयमा नै गम्भिर भएर सोच्नु पर्ने देखिन्छ ।
भिभिआइपीहरुको सवारीका क्रममा हुने समस्याको समाधानका निम्ति सम्बन्धित निकायबाट समयमा नै ट्राफिक व्यवस्थापनका लागी उचित कार्यनीति तयार गरि लागु गरिनुपर्छ ।

प्रकाशित : 10 December, 2018

प्रतिक्रिया दिनुहोस्