दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै


काठमाडौं । श्रावण–२०,हामी नेपाली संस्कार र संस्कृतीमा अत्यन्तै धनी छौं, हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरू विविध मौलिक स्वरूपमा हाम्रो सामू साक्षि भई बसेका छन् । हाम्रा रितिरिवाजहरूमा मौलिकता, आत्मियता तथा अपनत्व भरीएका हुन्छन्, जीवजन्तुदेखि माटोसम्म, रुखदेखि पातसम्म अनि काँचो कपासको डोरीदेखि सूर्यसम्म हामीले पूजा-अर्चना गरिआएका छौं । साउन कृष्ण प्रतिपदाका दिन आज (मङ्गलबार) काठमाडौँ उपत्यकामा मृतक आफन्तको स्मृतिमा गाई स्वरुप झाँकी प्रदर्शन गरेर गाइजात्रा मनाइँदैछ ।कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होसियारीपूर्वक मनाउनुपर्ने भएको छ । भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ । सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ । सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ । विगतमा बालकको सहभागिता अधिक हुने गरे पनि यस वर्ष बालकलाई सहभागी गराउन समस्या भएको छ ।

 

वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकूल रानीलाई हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन जात्रा शुरु गरिएको थियो ।त्यस बेला बिफरले मरेकाको घरबाट आफ्नो दरबार हनुमानढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भएको इतिहासमा वर्णन गरिएको पाइन्छ । समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरुपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रुप धारण गरेको भनिन्छ । एक समय यो जात्रालाई निरङ्कुशताविरुद्ध व्यङ्ग्य गर्न पाइने र आफ्ना कुण्ठित भावनालाई उजागर गर्न पाइने समयका रूपमा पनि उपयोग भयो । हिजोआज पनि व्यङ्ग्य र प्रहशन प्रस्तुत गर्दै एकथरीले यो जात्रा मनाउँदै आएका छन् ।गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाण्डौ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरु नजिकिंदै गरेको सङ्केत पनि गर्दछ । पारीलो घाम, उज्याला दिनहरु, चिसिंदै गरेका बतास अनि खेतको सकिएको रोपाँई । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।हिमाल, पहाड, तराईसम्म यो सालको गाईजात्राले हाँसो र खुशीको फोहोरा निकाल्न सकोस् । विकृती र भ्रष्टाचारीको भण्डाफोर होस् भने सुस्कारको तारिफ होस् । अर्कोतर्फ प्रियजनको मृत्यूपछि निराशा हैन शक्तिकासाथ अघि बढ्ने एउटा उर्जा भर्न सकोस् । दिवङ्गतलाई श्रदान्जली, बाँचेकालाई शक्ति र अघि बढ्न आवश्यक खुशीमन प्रदान गर्न सकोस् ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज