केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट कुलमानको कार्यकाल सकियो, मन्त्रिपरिषद्‍मा पुनर्नियुक्तिको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । भाद्र–२८, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्ष हुन्छ ।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकालको आज अन्तिम दिन हो । उनले चार वर्ष पहिले भदौ २९ गते कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भएको छ । उक्त प्रस्ताव आज अथवा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ । ऊर्जमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको उनका प्रेस सल्लाहकार दयानिधी भट्टले जानकारी दिए । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फेरि जिम्मेवारी दिने सहमति भइसकेको पनि बताइएको छ । मन्त्री पुनले सोहीबमोजिम चार वर्षका लागि घिसिङलाई नै कार्यकारी निर्देशक बनाउने प्रस्ताव तयार पारेका हुन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई दोहोर्‍याइने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, अध्यक्ष दाहाल र मन्त्री पुन निकटका स्रोतले बताएका छन् । प्रधानमन्त्रीका एक सल्लाहकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मन्त्री पुनले जसलाई अगाडि बढायो उसैलाई स्वीकार गर्ने र प्रधानमन्त्रीको तर्फबाट कुनै व्यक्ति नभएको बताएका छन् । आइतबार पनि उनले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेको कुलमानको सचिवालयले बताएकोे छ ।यसबीचमा मन्त्रिपरिषद् बैठक भने बसेको छैन । पछिल्लोपटक भदौ १९ गते मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । त्यसपछि भदौ २५ गते बोलाइएको बैठक २६ गतेका लागि सरेको थियो । २६ गते नेकपा स्थायी कमिटीको बैठकका कारण स्थगित भएको थियो ।प्रधानमन्त्रीको व्यस्तताले पछिल्लो समय मन्त्रिपरिषद्को बैठक बस्न नसकेको बताइएको छ ।ऊर्जा मन्त्रालयले सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट कुलमानबारे निर्णय हुने जनाएको छ । सोमबार मन्त्रिपरिषद् बैठक बस्ने सूचना भने आइतबार ४ बजेसम्म नआएको एक मन्त्रीले बताए ।त्यस्तै, सरकारको प्रवक्ता र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नेबारे पनि भोलिको बैठकले निर्णय गर्नसक्ने स्रोतले बताएको छ ।

प्रकाशित : 13 September, 2020

प्रतिक्रिया दिनुहोस्