केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लेखनाथ कोइरालालाई नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

सहयात्रा टिभी

काठमाडौं । भाद्र–३०, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ ।


सोमबार प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन् ।मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले वरिष्ठताको आधारमा कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको जानकारी दिए । अर्थ निर्देशनालयका प्रमुख कोइराला प्राधिकरणका कार्यरत १२औं तहका उपकार्यकारी निर्देशक हुन् । वरीयताक्रममा कोइरालाभन्दा अघि रहेका अर्का उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको रुपमा काजमा खटिएका छन् ।शाक्य र कोइरालासहित ग्राहक तथा वितरण सेवा केन्द्रका उपकार्यकारी निर्देशक हरराज न्यौपाने १२औं तहका कर्मचारी हुन् ।२०७३ भदौ २९ गते मन्त्रिपरिषद्बाट प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङ उनको कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाई भएका थिए ।लोडसेडिङको अन्त्य गरेको, घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको र चुहावट नियन्त्रण गरेर जस पाएका घिसिङ सर्वसाधारणमाझ लोकप्रिय छन् । सामाजिक सञ्जालमा उनको पुनर्नियुक्ति हुनुपर्ने माग उठिरहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका कारण उनलाई नियुक्त नगरिएको स्रोतले जानकारी दिएको छ । उनले ऊर्जा मन्त्रालयसँग २०७३ भदौं ३१ गते ४ वर्षे कार्यकालको लागि सम्झौता गरेका थिए । सम्झौताअनुसार उनको कार्यकाल सोमबार सकिएको हो ।

प्रकाशित : 15 September, 2020

प्रतिक्रिया दिनुहोस्