केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इङ्ल्याण्डमा पुनः लकडाउन शुरु

सहयात्रा टिभी

एजेन्सी । कार्तिक–२१,इङ्ल्याण्डमा बिहीबारदेखि चार साताको लकडाउन(बन्दाबन्दी)भएसँगै यहाँको जनजीवन प्रभावित बनेको छ । कोरोना भाइरसको संक्रमण तीव्र फैलिदै गएपछि बेलायत सरकारले गत शनिबार इङ्ल्याण्डमा लकडाउन गर्ने घोषणा गरेको थियो ।

बुधबार बेलायतको संसद हाउस अफ कमनले अनुमति दिएसँगै डिसेम्बर २ सम्म इङल्याण्डमा लकडाउन हुनेछ । प्रधानमन्त्री बोरिस जोन्सनको लकडाउनसम्बन्धी प्रस्तावलाई ५१५ सांसदले समर्थन गरेका थिए भने विपक्षमा ३८ मत परेको थियो । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ कन्जरभेटिभ पार्टीकी सांसद थेरेसा मे लगायतले विपक्षमा मतदान गरेका थिए।लकडाउन लागु भएपछि बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री जोन्सलने चार साताको लकडाउन कोरोना भाइरसको संक्रमण दरलाई प्रभावकारी रुपमा कम गर्न पर्याप्त हुने बताए । एकमहिना लामो लकडाउनपछि क्रिसमस सामान्य रुपमा मनाउन सकिने आशा व्यतmगर्दै प्रधानमन्त्री जोन्सनले अनावश्यक काममा बाहिर ननिस्कन र लकडाउनको नियम पूर्णरुपमा पालना गर्न आग्रह पनि गरेका छन् ।

उल्लङ्घन गरे दशहजार पाउण्ड जरिवाना
लकडाउन भएसँगै इङ्ल्याण्डमा पव,रेष्टुरेष्ट,जीम, सैलुन, मनोरञ्जनका क्षेत्र र अत्यावश्यक सेवा बाहेकका अन्य सबै पसल बन्द भएका छन । पिक एण्ड टेकअवे र डेलिभरी सेवा खुला छन् । अघिल्लो लकडाउनमा बन्द भएका विद्यालय,क्याम्पस, विश्वविद्यालय अहिले सञ्चालन भएका छन् । घरबाट गर्न नमिल्ने अवस्थाका उत्पादन र निर्माणसँग सम्बन्धित कामहरु गर्न दिइएको छ । खाद्यान्न पाइने सुपरमार्केट भने यथावत रुपमा चलेका छन् । सर्वसाधारणलाई घरमै बस्न र आफ्नो क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आग्रह गरिएको छ । नियम उल्लङ्घन गर्नेले दशहजार पाउण्डसम्म जरिवाना तिर्नुपर्नेछ ।

जोखिममा रहेकालाइ घर नछाड्न निर्देशन
डिसेम्बर २ पछि लकडाउन स्वत अन्त्यहुने बताउँदै प्रधानमन्त्री बोरिसले अवस्था हेरेर त्यसअघि कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने प्रक्रियाका लागि संसदमा प्रस्ताव लगिने बताए । यसैगरी बुधबार स्वास्थ्यका हिसाबले अति जोखिममा रहेकाका लागि बेलायतको सरकारले नयाँनिर्देशिका जारी गरेको छ निर्देशिका अनुसार सो समूहमा पर्ने मानिसलाई घर नछोडन भनिएको छ । व्यायाम र चिकित्सककोमा जान बाहिर निस्कँदा सामाजिक दुरी कायम गर्न, हात धुन र अनुहार नछुन निर्देशिकामा उल्लेख गरिएको छ । संक्रमण नियन्त्रण गर्न बेलायतका राज्यहरु वेल्स, स्कटल्याण्ड र नर्थन आयरल्याण्डले आफ्नै नियम अघि सारेका छन् ।

विज्ञद्वारा धान्न नसक्ने चेतावनी
कोरोनाको दोस्रो लहरसँग जुधिरहेको बेलायतमा अहिले दैनिक औसतमा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिदै गएका छन । बिहीबार मात्र २४ हजार १४१ नयाँ संक्रमित भेटिनुका साथै ३७८ जनाको मृत्यु भएको छ । एक हप्तामा एक लाख ५७ हजार ८६० जना नयाँ संक्रमित बेलायतमा भेटिएका छन । गत एक सातामा कोरोनका कारण दशहजारभन्दा बढीले अस्पतालमै उपचार गर्नुपरेको छ । यस्तै अवस्था रहे दैनिक चार हजारको ज्यान जान सक्ने र अस्पतालहरुले धान्ननसक्ने अवस्थाआउन सक्ने स्वास्थ विज्ञहरुले चेतावनी दिदै आएपछि सरकारले दोस्रो लकडाउन गरेको हो । यसअघि मार्च २३ देखि जुलाई ४ सम्म पहिलो लकडाउन गरिएको थियो ।

८० प्रतिशत परिश्रमिक सरकारले दिने
यसैबीच लकडाउन घोषणासँगै नोभेम्बर महिनासम्म निरन्तरता दिइने भनिएको फर्लो योजना सन २०२१ मार्चसम्म निरन्तरता दिइने भएको छ । संसदमा बिहीबार यसबारे जानकारी दिदै अर्थमन्त्री ऋषि सुनाकले जनवरीमा यसबारे थप पुनरावलोकन गर्ने जानकारी दिए । कोरोना नियन्त्रणका क्रममा सरकारले गरेको प्रतिबन्धका कारण प्रभावित भएका निजीक्षेत्रलाई सहयोग गर्ने उदेश्यले सरकारले यो योजना ल्याएको हो । जसअनुरुप सरकारले एक जना कामदारलाई मासिक दुई हजार पाँच सय पाउण्ड नबढने गरी ८० प्रतिशतसम्म पारिश्रमिक उपलब्ध गराउदै आएको छ । फर्लो योजनाका कारण बेलायतका लाखौँ कामदारको रोजगारीमा समस्या आएको छैन भने हजारौँ कम्पनीको आर्थिक अवस्था कमजोर हुनबाट जोगिएको छ ।
बेलायतबाहेक यूरोपका अधिकांश देश अहिले कोरोनाको दोस्रो लहरसँग जुधिरहेका छन । चिसो मौसम शुरु हुनै लाग्दा कोरोना नियन्त्रणका लागि ती देशले राष्ट्रव्यापी लकडाउन लागु गरेका छन । जर्मनी, फ्रान्स, बेल्जियम, चेक रिपब्लिकसँगै ग्रीसलगायतले लकडाउन गरेका छन ।यसैबीच फ्रान्स र अष्ट्रियामा आतङ्कवादी घटनापछि बेलायतले आतङ्कवादी आक्रमणको खतराको स्तर बढाएको छ ।यसअघि ‘पर्याप्त’ रहेको आतङ्कवादी आक्रमणको स्तरलाई ‘गम्भीर’ बनाइएको गृहमन्त्री प्रिति पटेलले बताउनुभएको छ । (न्यूज एजेन्सीहरूको सहयोगमा )

प्रकाशित : 6 November, 2020

प्रतिक्रिया दिनुहोस्