केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा : राष्ट्रिय परीक्षा बोर्ड

सहयात्रा टिभी

काठमाडौं । मंसिर–०५,कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रही रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको जानकारी दिएकाछन् । बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने तर कोरोनाको कारण स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।


बोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा हेर्ने कर्मचारीलाई कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरण कार्यक्रम जारी राखेको बताएको छ । केही दिनमा सबै जिल्लाको अभिमुखीकरण सकिने र परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।कोरोना सङ्क्रमण रहेको अवस्थामा पनि निर्वाध रूपमा परीक्षा सञ्चालन गर्न सक्ने आत्मविश्वास केन्द्राध्यक्षहरूले राखेको जनाइएको छ । भौतिक रूपले टाढाको दूरीका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ । नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।यसैबीच बोर्डले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै परीक्षा लिन सम्बद्ध विद्यालयलाई निर्देश पनि गरेको बताइएकोछ ।केही विद्यालयमा परीक्षाको दूरी कायम गर्न समस्या भए नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गरेर भए पनि परीक्षा लिने गरी बाटो खुला गरिएको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए ।कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी छन् । ती विद्यालयलाई परीक्षा सञ्चालन गर्न समस्या भएको अवस्थामा नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गर्न सक्ने अधिकार दिइएको हो  पौडेल बताउँछन्। धेरै विद्यार्थी अध्यापन गराउन सक्ने विद्यालयमा भौतिक संरचनासमेत ठूलो हुने र हाल अन्य कक्षाका विद्यार्थीको कक्षा नचलेकाले समस्या नहुने पनि जनाइएको छ ।बोर्डले परीक्षा सञ्चालनको अवधिमा कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीलाई परीक्षामा सहभागी नहुन र नआत्तिन अनुरोध गर्दै ती विद्यार्थीको छुट्टै परीक्षा लिइने जनाएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदा जोखिम झनै बढ्ने भएकाले उनीहरूका लागि अलग्गै परीक्षा लिने व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेल बताउँछन् । सङ्क्रमित विद्यार्थीले निको भएपछि आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था बोर्डले मिलाएको छ । सबै विद्यार्थीको अन्तिम नतिजा प्रकाशन एकैपटक गरिने भएकाले सङ्क्रमित विद्यार्थीले १५ दिनपछि परीक्षा दिएको अवस्थामा पनि केही फरक नपर्ने जनाइएको छ ।विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर दिइएको छ । विद्यार्थीले आफूले कक्षा १२ पढेको विद्यालयबाटै अन्तिम परीक्षा दिन पाउने छन् । परीक्षा केन्द्र परिवर्तन गर्न चाहेका विद्यार्थी मात्र अर्को विद्यालयमा परीक्षा लिन पुग्नेछन् ।
हाल सम्म केही हजार विद्यार्थीले परीक्षा केन्द्र परिवर्तनका लागि अनुरोध गरेको जानकारी बोर्डले दिएको छ । एउटा परीक्षा केन्द्रमा थोरै विद्यार्थी मात्र नयाँ हुन सक्ने जनाइएको छ । यसपटक विद्यार्थी अध्ययन गरेको विद्यालयलाई नै परीक्षा केन्द्र मानिएका कारण विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघट हुनु नपर्ने भएकाले परीक्षालाई स्वास्थ्यको हिसाबले समेत सुरक्षित बनाउन सकिने परिक्षा बोर्डको भनाई छ । यस्तै कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डले दिएको छ । विद्यालयले आफ्नो आन्तरिक व्यवस्थापन अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्न पाउने छन् । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतको सबै काम गर्ने अधिकार सम्बन्धित विद्यालयलाई नै दिइएको बोर्डको भनाई छ ।

प्रकाशित : 20 November, 2020

प्रतिक्रिया दिनुहोस्