केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाले सार्वजनिक गर्‍यो पनडुब्बीबाट प्रहार गर्ने क्षेप्यास्त्र, संसारकै शक्तिशाली अस्त्र भएको दावी

सहयात्रा टिभी

काठमाडौं । माघ २, उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्ने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ। उत्तरको सरकारी सञ्चारमाध्यमले उक्त क्षेप्यास्त्रलाई “संसारकै सबैभन्दा शक्तिशाली अस्त्र” भनेर वर्णन गरेको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेका थिए।

त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको “प्रधान शत्रु” भएको बताएका थिए।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ।

सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ।

ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्छ।

विश्लेषकहरूले यसअघि उत्तर कोरियामा नदेखिएका अस्त्रहरू देखिएको बताएका छन्।

“विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ,” कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।

बीबीसीबाट

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्