केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोभिड–१९ को कारण हवाई सेवा मारमा

सहयात्रा टिभी

चैतदेखि करिब ६ महिना व्यावसायिक उडानमा कमी आउँदा यात्रुको संख्यामा कमी आउनु स्वाभाविक हो ।कारोना कहरका कारण मुलुकका सबै क्षेत्र प्रभावित भए तापनि पर्यटन क्षेत्र सबैभन्दा मारमा परेको तथ्यांकले पनि पुष्टि गरेको छ ।

पर्यटन उद्योगसँग सम्बन्धित सबै नै उपक्षेत्रहरू वैश्विक महमारीको मारमा परेका छन् । त्यसमा हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले निकालेको तथ्यांकका अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई यात्रुको संख्यामा उल्लेख्य गिरावट आएको छ । सन् २०१९ को तुलनामा २०२० मा विमानस्थलमा उडान र अवतरण गरेका यात्रुको संख्याका आधारमा हेर्दा ६५ प्रतिशतले कमी आएको विमानस्थल कार्यालयको तथ्यांकले देखाएको छ । सन् २०१९ मा विमानस्थलमा कुल ७३ लाख ५ हजार ५ सय ९९ यात्रुले विमानस्थल प्रयोग गरेका थिए भने सन् २०२० मा २५ लाख ६२ हजार ८ सय ६५ यात्रुको मात्र उडान तथा अवतरण भएको देखियो । यसरी कोरोना कहरका कारण अन्तर्राष्ट्रिय र आन्तरिक व्यावसायिक उडानमा रोक लगाउँदा यात्रुको संख्यामा कमी आएको हो । सरकारले कोरोना भाइरसको रोकथामका लागि गत चैत ९ गतेबाट अन्तर्राष्ट्रिय उडानमा र आन्तरिकमा ११ गतेबाट प्रतिबन्ध लगाएको थियो भने लामो समयपछि अन्तर्राष्ट्रिय व्यावसायिक उडान भदौ १६ र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । वास्तवमा कोरोना कहरका कारण आवागमन पूर्ण तथा आंशिक बन्द हुँदा नेपालमात्र नभई विश्वका धेरै देशका वायुसेवा टाट पल्टेका तथा घाटामा गएका छन् ।

नेपाल वायुसेवा सञ्चालकहरूले जेनतेन आफ्नो व्यवसाय बचाएका छन् । अझै पनि सहज रूपमा आवागमन भइ नसकेको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेर मात्रै वायु सेवा सञ्चालन भइरहेको छ । आन्तरिक तथा बाह्य दुवै वायुुसेवा सहज हुन अझै धेरै समय लाग्ने देखिन्छ ।

यसरी चैतदेखि करिब ६ महिना व्यावसायिक उडानमा कमी आउँदा यात्रुको संख्यामा कमी आउनु स्वाभाविक हो । उडानको संख्या नै कम भए पछि यात्रुको संख्या पनि कम हुनु स्वाभाविक हो । आन्तरिक उडानमा सन् २०१९ को तुलनामा सन् २०२० मा ५४ प्रतिशतले कमी आएको छ । किनकि सन् २०१९ मा ३१ लाख ६७ हजार ३६ यात्रुले विमानस्थल प्रयोग गरेकोमा २०२० मा १४ लाख ५७ हजार ५ सय ३९ यात्रुले विमानस्थल प्रयोग गरेको छन् । यस्तै, कुल अन्तर्राष्ट्रियतर्फ ११ लाख ५३ हजार २६ यात्रुले विमानस्थल प्रयोग गरेका छन्, जसमा प्रस्थानतर्फ ५ हजार १ सय ३० र आगमनमा ५ हजार १ सय १७ उडान गरी कुल १० हजार २ सय ४७ उडान भएका थिए । सरकारले कोरोना प्रभावित उद्योग व्यवसायलाई राहतको घोषणा गरे पनि पर्यटन क्षेत्र समग्र नै मारमा परेको हुनाले सन् २०२० नेपालको पर्यटनका दृष्टिले सम्झन लायक वर्ष रहेन ।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्