केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बढ्दो चिसोको कारण तराईको जनजीवन कष्टकर बन्दै

सहयात्रा टिभी

महोत्तरी । माघ ०४, चिसोको कारण मध्यपूर्वी तराईको जनजीवन कष्टकर भएको छ ।पछिल्लो एक सातायता घाम नलागेपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ ।

बेगले बहने चिसो हावा र लगातारजसो परिरहेको तुसारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् ।“बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्”, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहा भन्छन्, “अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, फुल र कोसा पनि कक्रक्क परेका छन् ।”

यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था आएको बताउँछन् ।लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानको चिन्ता छ ।

लगातार मौसम चिसिँदै जाँदा बजारको चहलपहल स्वात्तै घटेको छ । किसानले फसल बजार पुर्‍याउन नसकेपछि बजारका स्थायी व्यापारीको भाउमा मनोमानी बढेको छ ।मौसम जति बिग्रे पनि भान्सामा नभई नहुने वस्तु लिन जाँदा ल्याउनै पर्ने भएपछि आफूहरू मूल्यको मारमा परेको बजारु उपभोक्ता बताउँछन् ।

यता लगातारको चिसोले बस्तीबस्तीमा बिरामी हुनेको सङ्ख्या बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी ह्वात्तै बढेका छन् । खासमा गरिब बस्तीका वृद्धवृद्धा, स–साना केटाकेटी र सुत्केरी बढी जोखिममा परेका बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विधानचन्द्र झा बताउँछन् ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्