केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेको केन्द्रीय कमिटी बैठक चैत्र १ गते

सहयात्रा टिभी

काठमाडौँ । फागुन २८, नयाँ परिस्थितिबारे छलफल गर्न संसद्को ठूलो दल नेकपा एमालेले चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। २०७५ जेठ ३ गते माओवादी केन्द्रसित एकीकृत भएर नेकपा बनेपछि एमाले विघटन भएको थियो तर गत २३ गते सर्वोच्च अदालतले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक डाकिएको सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘सम्मानित सर्वोच्च अदालतको फैसलापछि पार्टी २०७५ जेठ २ गतेको स्थितिमा पुग्यो, त्यतिखेर पार्टीको पोजिसन के थियो, छलफलको सुरुवात त्यहींबाट गर्नुपर्छ,’ गुरुङले भने, ‘यो बीचमा धेरैको मन भाँचिएको छ, यो कुरालाई मनन गरेर सबै आत्मालोचित हुनुपर्छ र कमीकमजोरी कहाँ भएको छ, खुला–खुलस्त छलफल गरेर जानुपर्छ। त्यसैका लागि हामीले चैत १ गते केन्द्रीय कमिटी बैठक बोलाएका छौं।’

उनले पार्टी एकीकरणपछि नेताहरूमा बढेको अविश्वास र आपसी विवादको समाधान त्यही बैठकले गर्ने बताए। नवौं महाधिवेशनमा निर्वाचित र पछि मनोनीत गरी एमालेका २ सय ५ जना केन्द्रीय सदस्य छन्। तीमध्ये माधवकुमार नेपाल पक्षमा ९० जना छन् भने १० पद रिक्त छन्। उपाध्यक्ष वामदेव गौतमसहित ३ जना तटस्थ बसेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा १०२ जना केन्द्रीय कमिटी सदस्य छन्। २५ सदस्यीय स्थायी कमिटीमा १२ जना ओली र १२ जना नेपाल पक्षमा छन्। स्थायी कमिटी सदस्य सोमनाथ प्यासी प्रदेश प्रमुख भएपछि उनको ठाउँ रिक्त छ।

नेकपाको पदाधिकारीमा भने खनाल–नेपाल निकटको वर्चस्व छ। महाधिवेशनबाट चयन हुने १५ सदस्यीय पदाधिकारीमा विद्या भण्डारी राष्ट्रपति भएपछि उपाध्यक्षको एक पद खाली छ। महाधिवेशनपछि पदाधिकारीभित्र झलनाथ खनालपछिको वरीयतामा माधव नेपाललाई राखिएको छ। त्यसैले अहिले नेकपामा एउटा उपाध्यक्ष पद खाली भए पनि नेपालसहित पदाधिकारी तहमा १५ जना छन्।

तीमध्ये ९ जना खनाल–नेपाल समूहमा छन्। चार उपाध्यक्षमध्ये भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, दुई उपमहासचिवमध्ये घनश्याम भुसाल र पाँच सचिवमध्ये गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य खनाल–नेपालतर्फ छन्। महाधिवेशनमा ओली पक्षबाटै उपाध्यक्षमा निर्वाचित भए पनि गौतम तटस्थ छन्। ओली पक्षमा उनीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरू प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ छन्।

सचिव गुरुङले पार्टीलाई नयाँ सिराबाट सुदृढ गर्ने र सबै कमिटीको अधिवेशन गरेर पार्टी महाधिवेशनसम्म पुग्ने गरी बैठकको तयारी गरिएको बताए।

प्रकाशित : 12 March, 2021

प्रतिक्रिया दिनुहोस्