केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनसँग सडक सञ्जाल जोड्न चार किमी बाँकी हुँदा तमोर कोरिडोर निर्माण कार्य स्थगन

सहयात्रा टिभी

फुङ्लिङ । जेठ ९, दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर कोरोनाका कारण आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य रोकिएको छ ।

सात वटा स्काभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकामा बिर्तामोडदेखि निषेधाज्ञाका समयमा डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ ।

चीनसँग सडक सञ्जाल जोड्न चार किमी बाँकी:

छिमेकी दुई देश चीन र भारतलाई जोड्ने तमोर कारिडरमा चार किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए ।

सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहेको तर कोभिडले असर गरेको इन्जिनीयर पौडेलले बताए । चीनदेखि ओलाङचुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्र्याक खुलिसकेको छ ।

सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ–७ ओलाङचुङ्गोला हुँदै प्रत्यक्ष चीनसँग सडक सञ्जालले जोड्ने आयोजना अहिले इलाडाँडामा क्षेत्रमा पुगेर रोकिएको हो । तीन सय १४ किलोमिटर सडकले छिमेकी मुलुक भारत र चीन प्रत्यक्ष सडक सञ्जालले जोडिने पौडले बताए ।

त्यस्तै चीन र नेपालको सीमा टिप्ताला नाका जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो । यो सडकखण्डमा विभिन्न आकारका १० वटा मोटरेबल पुल निर्माण हुनेछन् । विसं २०६५ मा सडक निर्माण शुरु गरिएको थियो । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो । यो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले बताएको छ । एजेन्सीको साथमा

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्