केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभाको विश्वास

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आइतबार रातिसम्म भएको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् ।

हिजो भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगरेको जानकारी दिए ।

सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

देउवालाई कांग्रेसका सांसदसहित माओवादी केन्द्रका ४९, जसपाका ३२, जनमोर्चाका १ र नेकपा एमाले माधव नेपाल पक्षका २२ सांसदले विश्वासको मत दिएका थिए ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनर्स्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।

प्रकाशित : 19 July, 2021

प्रतिक्रिया दिनुहोस्