केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राना थारु गाउँका दिदीबहिनी सावनको डोलामा रमाउँदै (फोटो फिचर)

सहयात्रा टिभी

कञ्चनपुर । साउन १०, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् ।

साउनको पहिलो सातामै डोला राख्ने यो राना थारु समुदायको परम्परागत चलन हो ।

परम्परागत पहिरनमा सजिएका राना थारु महिलाहरु आफ्नै स्थानीय भाषा र परम्परागत शैलीमा गीत गाउदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् ।

पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ ।

दिदीबहिनीले पानीसमेत नपिएर निराहार बसी दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । यसै अवसरमा उनीहरुले तीज मनाउने गर्दछन् । निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तिसँगै विसर्जन गर्ने चलन रहेको छ । विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धार जस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् ।

माइतीलाई भेट्न नपाएका दिदीबहिनीहरु यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसलाई वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँछन् । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रूपमा समापन गरिन्छ ।

दाजुभाइले तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । परम्परागत राना थारु समुदायका महिलाहरुले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ । एजेन्सीको साथमा ।

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्