केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समयमा महसुल नबुझाउदा सेवाग्राहीको लाइन काट्न शुरु

सहयात्रा टिभी

दाङ । कार्तिक ७, समयमा महसुल बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले सेवाग्राहीको लाइन काट्न शुरु गरेको छ। लामो समयदेखि विद्युत् महसुल नबुझाएका ७० घरको लाइन काटिएको केन्द्रले जनाएको छ।

कात्तिक १ गतेदेखि लाइन काट्न शुरु गरिएको केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालले बताए। मिटर रिडिङ भएको ६० दिनभन्दा बढी समयसम्म पनि सेवाग्राहीले महशुल तिर्न नआएमा उनीहरूलाई कालो सूचीमा राखेर लाइन काट्न थालिएको उनको भनाइ छ।

विभिन्न व्यक्ति संघ, सरकारी कार्यालय, कम्पनीलगायतबाट पाँच करोड ६७ लाख रुपैयाँ बक्यौता रकम असुल गर्न बाँकी रहेको प्रमुख फर्सालले जानकारी दिए। चालु आर्थिक वर्षको अन्त्यसम्म तीन करोड रुपैयाँ असुल गर्ने लक्ष्य रहेको उनले बताए।

चालु आर्थिक वर्षको हालसम्म प्राधिकरणले २३ लाख ७९ हजार बक्यौता रकम बुझाउन बाँकी ८७ घरको लाइन काटेको छ। धमाधम लाइन काट्न सुरु गरेपछि बक्यौता महशुल संकलन हुन थालेको उनले बताए।

आर्थिक वर्ष २०७७/७८ मा प्रधिकरणले ६३ लाख ८८ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेका २८५ ग्राहकको लाइन काटेको थियो। बक्यौता बुझाए पछि सेवाग्राहीको घरमा पुनः विद्युत् जडान गरिने प्राधिकरणले जनाएको छ। तुलसीपुर वितरण केन्द्रका ४६ हजार ५७ ग्राहक संख्या रहेको छन्।

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्