उजुङ गाउँका घरघरमा पानीका धारा
काठमाडौं । माघ ७, इस्मा गाउँपालिका– १ उजुङका ७७ वर्षीय टीकाबहादुर कुँवरलाई घरछेउमा पानी आउला भन्ने कल्पना पनि थिएन ।
अघिल्ला थुप्रै पुस्ताले खानेपानीका लागि खोला र पँधेरा धाए । उनी स्वयंले पनि पानीका लागि आधा रातमै पँधेरा झर्नुपरेको थियो, कैयौँपटक झगडा नै गर्नुपरेको थियो । तर, अब ती स्मृतिमा मात्र छन् । सामुन्ने छ, खानेपानीको धारा ।
‘घरकै छेउमा पानी आउने आस नै थिएन । पानी बोक्दा कैयौँ पुस्ताका जुग गए,’ उनले भने, ‘प्रविधि र विकासले अहिले घरमै पानी झर्यो ।’ सोही गाउँकी ४८ वर्षीया लक्ष्मी कुँवरसँग पानीका लागि राति २ बजे खोला झरेका अनुभव छन् । कैयौँ बिहान खोला र पँधेरामा बिते । रातमा पनि निद्रा पर्दैनथ्यो ।
‘राति निद्रामा पनि खोला र पँधेराको सम्झना आउँथ्यो । एक बिहानमा एक गाग्रो पानी घर आउँथ्यो,’ उनले भनिन्, ‘अहिले घरमै पानी आउँछ, ढुक्कले निदाउन पाएका छौँ ।’
पानीकै कारण कैयौँका जनजीवन प्रभावित थिए । विद्यार्थी विद्यालय पुग्ने वेला खोला र पँधेरामा हुन्थे । जनज्योति निमाविका प्रधानाध्यापक चुमा कुँवरका अनुसार विद्यार्थीले विद्यालय आउँदा पनि डोको र गाग्री बोकेर आउँथे ।
शनिबार विद्यालयको पोसाक धुन पनि सोच्नुपर्ने स्थिति थियो । अहिले गाउँमा पानी आएपछि सबैका जीवन फेरिएका छन् । पानी घरमै आएपछि समयको बचत, सरसफाइ र सानोतिनो तरकारी खेतीमार्फत आयआर्जनमा टेवा पुगेको सोही गाउँकी राधा परियारले बताइन् ।
नेपाल सरकारको तीन करोड १६ लाख ४१ हजार र स्थानीय तह र उपभोक्ताको जनश्रमदान ७९ लाख ३६ हजार दुई सय ६१ गरेर कुल तीन करोड ९५ लाख ७७ हजार दुई सय ६६ रुपैयाँ खर्च भएको उपाध्यायले बताए । उनले आयोजना व्यवस्थित बनाएर उपयोग गर्न उपभोक्तालाई सुझाव दिए । प्रविधिले खोलाको पानी डाँडोमा आएकाले निगरानी, सरसफाइ र मर्मतसम्भार नभए समस्या हुने भएकाले राम्रो व्यवस्थापकीय पक्षमा ध्यान दिन उपाध्यायले आग्रह गरे ।