केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्धारित समयमा नसकिने भयो बुटवलको सम्मेलन केन्द्र निर्माण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९,बुटवलको रामनगरस्थित बुटवल मण्डपमा निर्माणाधीन अन्तराष्ट्रिय सम्मेलन केन्द्र भवनको निर्माणको काम ७७ प्रतिशत सकिएको छ।

बाँकी २३ प्रतिशत काम कहिले सकिने हो, टुंगो छैन। बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका इन्जिनियर सुमन दर्लामीले चैत मसान्तसम्म जसरी पनि सक्ने गरी काम भइरहेको बताए। पाँच वर्षमा निर्माण सक्ने गरी २०७१ माघ १५ मा बुटवल सम्मेलन केन्द्र निर्माणको काम शुरु भएको हो। तर, सात वर्ष बितिसक्दासम्म सम्मेलन केन्द्रको काम अपुरै छ। सम्मेलन केन्द्र भवन निर्माणका लागि १ अर्ब ३ करोड रुपैयाँमा दुई चरणमा बाँडेर ठेक्का सम्झौता गरिएको थियो।

शहरी विकास तथा भवन निर्माण विभागले निर्माण थालेको सम्मेलन केन्द्रको रविना समानान्तर चन्द्रसूर्य जेभी निर्माण कम्पनीले पहिलो चरणको ठेक्का लिएको हो। काम नसकेपछि आयोजनाले विभिन्न कारण देखाउँदै म्याद थप्यो। शुरुमा निर्माणस्थलका रूख काट्ने अनुमति नपाउँदा करिब ६ महीना ढिलाइ भएको थियो।त्यहाँका विभिन्न प्रजातिका १सय ३६ वटा रूख हटाएर मात्रै निर्माणको काम शुरु भएको थियो। त्यसपछि भूकम्प र नदीजन्य पदार्थ अभाव, कोरोना महामारीलगायतले ढिलाइ भएको बताउँदै काम रोकेको थियो।

अहिले पहिलो चरणको काम सकेर दोस्रो चरणको काम भइरहेको आयोजनाका इन्जिनियर दर्लामीले बताए। पहिलो चरणमा मुख्य सभा हल अर्थात् राष्ट्रिय झन्डाको माथिल्लो भागको सूर्यअंकित शैलीमा निर्माण गरिएको छ। १ हजार १ सय क्षमताको सभा हलको भवन तयार भएको छ।

त्यसमा दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भीआईपी, भिडिओ अडियो, ट्रान्सलेटर लगायतका कक्षको स्टक्चर तयार पारिएको छ। त्यसमा २३ करोड रुपैयाँ खर्च भएको छ। सभाहलमा भौतिक संरचना निर्माणको काम सकिए पनि रंगरोगन र विद्युतीय तथा फनिर्सिङका काम बाँकी छन्। सभाहलभित्र जिप्सन, विद्युत र सीसीटीभी जडानको काम भइरहेको छ। १ हजार १ सय मानिस बस्न मिल्ने गरी कुर्सी जडान गरिँदै छ।

हाल आशीष निर्माण सेवाले ती काम गरिरहेको आयोजनाले जनाएको छ। सम्मेलन केन्द्रको दोस्रो चरणको कामलाई ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। जुन भवन झन्डाको तल्लो भाग अर्थात चन्द्रअंकित शैलीमा बन्दै छ। यस भवनमा दुईवटा एकरएक सय क्षमताका र दुईवटा ५०र५० जना अट्ने हल बन्नेछन्।

सम्मेलन केन्द्रको चारैतिर चारवटा प्रवेशद्वार बनाइँदैछ। केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेस्टुराँ, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिने छ। कर्मचारीका लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचालगायत संरचना निर्माण हुँदैछन्।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये १० बिघा क्षेत्रफलमा सभाहल निर्माण भइरहेको छ। सम्मेलन केन्द्र आकाशबाट हेर्दा नेपाली झण्डाको आकारमा देखिनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका नाममा शुरु भएको आयोजनालाई विभागले पछि ‘अन्तर्राष्ट्रिय’ शब्द हटाएर ‘बुटवल सम्मेलन केन्द्र’ नाम दिएको हो। यद्यपि, योजना निर्माणका क्रममा दोस्रो प्राथमिकतामा परेको केन्द्र योजना आयोगले पहिलोमा राखेर काम अघि बढाएको थियो।

प्रकाशित : 4 March, 2022

प्रतिक्रिया दिनुहोस्